सोमबार, ०५ असोज २०८३
सोमबार, ०५ असोज २०८३ · राजनीति
काठमाडौं, असोज ५ । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले राजनीतिक विश्लेषक भरत दाहाल पक्राउप्रति आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा उहाँले आपत्ति जनाउनुभएको हो । सार्वजनिक रूपमा सरकार तथा प्रधानमन्त्री बालेन्द्र साहबारे लगातार खरो रूपमा प्रश्तुत हुँदै आएका दाहाल मोरङको बलबारीबाट आईतवार बिहान पक्राउ परेका थिए । सांसद बरालले सरकारले दाहाललाई पक्राउ गरेर प्रेस स्वतन्त्रताको हनन गरेको आरोप पनि लगाउनु भयो । उहाँले सातामा दुई दिन बिदा दिने सरकारको निर्णय फिर्ता लिन समेत माग गर्नुभयो । दुई दिन बिदा दिने निर्णयले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा कति प्रभाव परेको छ, यो सरकारले बुझेको छ ? उहाँको प्रश्न छ । उहाँले प्रधानमन्त्री शाहको संयुक्त राष्ट्र संघको महासभामा जाने भ्रमण तालिकाबारे सदनलाई जानकारी गराउन पनि माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सभामुख महोदय, शनिवार र आईतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णयले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रमा कति प्रभाव परेको छ, यो सरकारले बुझेको छ ? कि आफू लोकप्रिय हुनको लागि सञ्चालन गरिएको कार्यक्रमले नागरिक र कर्मचारीले कति सास्ती पाएका छन् भन्ने बुझेको छ । सरकारले यो कुराको महशुस किन गरिरहेको छैन ? अर्को कुरा, प्रेस स्वतन्त्रता, प्रेस स्वतन्त्रता भन्दै हिँडेकान छन् अर्कोतर्फ राजनीतिक विश्लेषकलाई पक्रिनुको कारण के हो ? यो ग्रेजोनको विषयमा उहाँले नेपाली अनुवाद गरे भन्ने बित्तिकै पक्रिनुपर्ने ? के नेपालमा प्रेस स्वतन्त्रताको अधिकार छैन र ? अनि प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रसंघको महासभामा जाँदै हुनुहुन्छ, उहाँ किन जाने, कहिले जाने, त्यहाँ गएर के कुरा राख्ने भन्ने विषयमा हामीले र जनताले थाहा पाउनु पर्दैन ? त्यो विषयमा सम्मानित सदनलाई जानकारी गराउनुपर्दैन ।’
उहाँले सभालाई सम्बोधन गरेर महासभामा सहभागि हुनेबारे जानकारी गराउन समेत माग गर्नुभयो ।
५ घण्टा अगाडि