logo-image

बुधबार, २७ साउन २०८३

कोप–३१ मा सहभागिताका लागि प्रधानमन्त्री साहलाई टर्कीएका राष्ट्रपतिको निमन्त्रणा

बुधबार, २७ साउन २०८३ · राजनीति

कोप–३१ मा सहभागिताका लागि प्रधानमन्त्री साहलाई टर्कीएका राष्ट्रपतिको निमन्त्रणा

काठमाडौं, साउन २७ ।  प्रधानमन्त्री बालेन्द्र साहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा निमन्त्रणा गरिएको छ ।

बुधवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागि हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताउनुभएको हो ।

उहाँका अनुसार कोपमा सहभागि प्रधानमन्त्री शाहलाई टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले निमन्त्रणा पठाउनुभएको हो । सहसचिव ढकालले परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो । यद्यपि कुन तहबाट सहभागिता हुने भन्नेबारे जानकारी प्राप्त भइनसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ । टर्कीएका सम्माननीय राष्ट्रपति ज्युबाट निमन्त्रणा प्राप्त भएको हो । त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौं । कुन लेभलबाट सहभागिता हुने भन्ने विषय हामीलाई जानकारी हुन बाँकी नै छ, हामी त्यसको प्रतिक्षामा छौं ।’

कोप–३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्ताल्यामा हुँदैछ । नेपाल सरकारले उक्त सम्मेलनमा जालवायु न्याय, हानि नोक्शानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रुपमा उठाउने तयारी गरेको छ ।