सोमबार, ११ जेठ २०८३
सोमबार, ११ जेठ २०८३ · अर्थ
काठमाडौं, जेठ ११ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने २,४५३ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन्। उक्त कारबाहीबाट प्रहरीले कुल ११ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीको विवरण अनुसार सबैभन्दा धेरै अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने १,३६८ जना रहेका छन्। यसैगरी, नियम विपरीत सवारी चलाउने २३८ जना राइड-शेयरिङ चालक, रातो बत्ती (सडक संकेत) उल्लंघन गर्ने १८४ जना र लेन अनुशासन पालना नगर्ने १४ जना चालकहरू कारबाहीमा परेका छन्।
त्यस्तै, सडक किनारा तथा फुटपाथमा जथाभाभी पार्किङ गर्ने १०० जना र प्रतिबन्धित क्षेत्रमा हर्न बजाउने ११९ जनालाई पनि कारबाही गरिएको छ। मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०५ जना र वान-वे (एकतर्फी) सडकमा सवारी गुडाउने ३१९ जना चालकहरू प्रहरीको फन्दामा परेका छन्। गति तर्फ तीव्र गति (Over-speeding) मा सवारी चलाउने १८६ जना र अन्य तीव्र गतिका १३९ गरी कुल ३२५ जना चालकहरू कारबाहीमा परेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।
उपत्यकाको सडक अनुशासनलाई थप मजबुत, सुरक्षित र व्यवस्थित बनाउन यो व्यापक चेकिङ अभियान चलाइएको प्रहरीले जनाएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउनु वा अन्य कुनै पनि ट्राफिक नियम उल्लंघन गर्नु कानुन विपरीत भएको स्मरण गराउँदै प्रहरीले सडक सुरक्षाका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। यदि कसैले नियम उल्लंघन गरेको वा मापसे गरी सवारी चलाएको फेला पारेमा तुरुन्तै नजिकैको ट्राफिक कार्यालय, ट्राफिक नियन्त्रण कक्षको हटलाइन नम्बर १०३ वा प्रहरीको आपतकालीन नम्बर १०० मा सम्पर्क गरेर जानकारी दिन आग्रह गरिएको छ।