logo-image

आइतबार, १४ असार २०८३

लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली

आइतबार, १४ असार २०८३ · राजनीति

लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइयो, अब एमालेमा हात हाल्न खोजिँदैछः ओली

काठमाडौं, असार १४ ।  पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनको लागि नेपाली काँग्रेस फुटाइएको दाबी गर्नुभएको छ । 
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आईतवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँ लोकतान्त्रिक शक्तिहरु मिल्न नदिन र  प्रतिक्रान्तीको बाटोमा मुलुकलाई अघि बढाउने उद्देश्यप्रेरित समूहहरुले नेकपा (एमाले)माथि समेत हाल्ने प्रयास भइरहेको टिप्पणी गर्नुभयो । उहाँले नेकपा (एमाले) जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान बोकेको पार्टी भएको भन्दै आफ्ना नीति र सिद्धान्तमा सजग र सचेत भएको समेत बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘ लोकतान्त्रिक शक्तिहरुलाई मिल्न नदिनका लागि कसरी फुट्यो, कसले फुटायो, किन फुटायो, फुटेर के भो, नेपाली काँग्रेस त फुट्यो । अरुलाई पनि फुटाउने कोसिस हुन सक्छ । पहिले पहिले पनि फुटाउने कोसिस भएको छ । पार्टीहरु फुटेका छन् । मुस्किलले एकता गर्यो, फुट्ने बेलामा चम्किदै फुट्छ । मुस्किलले एकता गर्यो सजिलोसँग फुट्छ, त्यो हामीले देखेका छौँ । यो कुरालाई हामीले सावधानीका साथ रोक्नुपर्ने छ आजको अवस्थामा । प्रयासहरु भएका छन् तर नेकपा (एमाले) यति मजवुत, यति सुदृढ पार्टी हो, जननेता मदन भण्डारीले उहाँको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवादबाट निर्देशित र समाजवाद निर्माणको महान उद्देश्य भनेको समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने महान उद्देश्य बोकेको यो पार्टी आफ्ना उद्देश्यहरु प्रति अत्यन्तै सचेत र सजग छ । त्यसकारण यो कसैले हात हाल्न खोज्दैमा त्यस्ता बाहिरबाट हात हाल्न खोजिए भने त्यस्ता कुराहरुलाई हामीले चिन्छौ, त्यस्ता कुराहरुलाई पराजित गर्छौँ । नेकपा एमाले एकताबद्ध छ, एकताबद्ध रहने छ । सुदृढ छ, अझ सुदृढ हुनेछ ।’
उहाँले पार्टीभित्र कसैले हात हाल्न खोजे पराजित गर्ने क्षमता समेत पार्टीमा रहेको बताउनु भयो ।

एमाले लडेको हो, मरेको होइन, फेरि धुलो टकटक्याएर उठ्छौँः अध्यक्ष ओली
 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी निर्वाचनको परिणामबाट केही कमजोर देखिए पनि समाप्त नभएको बताउनुभएको छ । 
जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आईतवार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले एमालेको एकता र सुदृढीकरणमा जोड दिनुभएको हो । अध्यक्ष ओलीले निर्वाचनमा प्राप्त परिणामलाई एक ‘धक्का’ का रूपमा चित्रण गर्दै पार्टी पुनः सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । आफूहरु धक्काबाट उठेर प्रतिक्रियावादीहरुलाई पराजित गर्ने अठोट व्यक्त गर्नुभयो । उहाँले विध्वंशको बाटोबाट नभइ रचनात्मक, शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ आफूहरु अघि बढ्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘ नेकपा एमाले एकतावद्ध छ, एकतावद्ध रहनेछ, सुदृढ छ, अझ सुदृढ हुनेछ । अहिले चुनावमा हामीले धक्का खाएका छौं, यो धक्का हो तर हामी समाप्त भएका छैनौं । धक्का खानु र समाप्त हुनु एउटा कुरा हो, हामी अहिले लडेका छौं तर मरेका होइनौं । फेरि उठ्छौं हामी । फेरि उठेर हामी प्रतिक्रियावादीहरूसँग लड्छौं र पराजित गर्छौं । यो कुनै लुकेको कुरो छैन । हामी विध्वंशको बाटोबाट होइन, रचनात्मक बाटोबाट, शान्तिपूर्ण बाटोबाट हामी अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्छौं, पश्चगामी, प्रतिगामी षडयन्त्रहरूलाई पराजित गर्दै धक्कालाई पराजित गर्दै फेरि धुलो टकटक्याउँदै उठ्छौं। हाम्रो विजय अवश्यम्भावी छ ।’
पार्टीको आगामी कार्यदिशाबारे स्पष्ट पार्दै उहाँले एमाले विध्वंशको बाटोमा नभई रचनात्मक र शान्तिपूर्ण ढंगले अग्रगामी परिवर्तनतर्फ केन्द्रित हुने बताउनु भयो । पश्चगामी र प्रतिगामी षड्यन्त्रहरूलाई पराजित गर्दै एमालेको विजय सुनिश्चित रहेको उहाँको दाबी थियो ।–न्युज एजेन्सी नेपाल

ताजा समाचार