logo-image

आइतबार, १७ जेठ २०८३

मानव अधिकार आयोगको प्रतिवेदन हालसम्म प्रधानमन्त्री कार्यालयमा आएको छैनः प्रधानमन्त्री साह

आइतबार, १७ जेठ २०८३ · राजनीति

मानव अधिकार आयोगको प्रतिवेदन हालसम्म प्रधानमन्त्री कार्यालयमा आएको छैनः प्रधानमन्त्री साह

काठमाडौं, जेठ १७ । प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न समयमा गठन भएका छानबिन आयोगका प्रतिवेदनहरू अध्ययनपश्चात् सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 
आईतवार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो जानकारी गराउनुभएको हो । प्रधानमन्त्री साहकाअनुसार राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन हालसम्म प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा प्राप्त भएको छैन । सञ्चारमाध्यममा केही अंशहरू चर्चामा आए पनि करिव १० हजार पृष्ठ लामो भनिएको उक्त प्रतिवेदन आधिकारिक रूपमा प्राप्त हुनासाथ सार्वजनिक गरिने उहाँले स्पष्ट पार्नुभयो । यसका साथै, देशका विभिन्न घटनाका सन्दर्भमा गठित अन्य आयोगका प्रतिवेदनहरू अध्ययन गर्न एक समिति बनाइने र सो समितिको सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय लिने उहाँको भनाइ थियो ।
यसैगरी, बाँदरले बालीनाली नष्ट गर्ने समस्या समाधानका लागि अध्ययन समिति गठन भएको जानकारी गराउँदै प्रधानमन्त्रीले यो विषय निकै पेचिलो र चुनौतीपूर्ण रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘बाँदर नियन्त्रणका लागि खेतबारी वा जङ्गलमा तारवार गरी मानव र वन्यजन्तुको क्षेत्र छुट्ट्याउनु निकै खर्चिलो उपाय हो ।’
जीवजन्तुको हत्या नगरी समस्या समाधान गर्न सरकारले विभिन्न देशहरूमा अपनाइएका सफल र वैकल्पिक उपायहरूबारे अध्ययन गरिरहेको उहाँले उल्लेख गर्नुभयो । अध्ययन समितिको प्रतिवेदन प्राप्त भएपछि सोही आधारमा सरकारले ठोस कार्ययोजना अघि बढाउने प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुभएको छ । –न्युज एजेन्सी नेपाल