बिहिबार, १५ असोज २०८३
बिहिबार, १५ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १५ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको व्यवस्थापनदेखि कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी अघि बढाइरहेको बताउनुभएको छ ।
बिहीवार कृषि समितिको बैठकमा उहाँले नेपालमा रासायनिक मल उत्पादन नभएकाले अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुपरेको र अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रत्यक्ष प्रभाव नेपालमा समेत पर्ने भएकाले त्यसको व्यवस्थापनमा लागेको बताउनुभएको हो । मन्त्री चौधरीले चालु वर्षका लागि सरकारले उपलब्ध गराउँदै आएको रासायनिक मललाई व्यवस्थित गर्दै अभाव हुन नदिने बताउनुभयो । रासायनिक मलको विषयमा नेपाल आत्मनिर्भर हुन नसकेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा निर्भर रहनुपरेको उहाँको भनाइ थियो ।
मन्त्री चौधरीले रासायनिक मलसँगै प्राङ्गारिक मलको विषयलाई पनि सरकारले नीतिगत रूपमा अघि बढाइरहेको बताउनु भयो । प्राङ्गारिक मलसम्बन्धी कार्यविधि निर्माणको क्रममा रहेको जानकारी दिँदै उहाँले सरोकारवालासँग नीति तथा त्यसको आधारमा हुने कामबारे छलफल गरेर अघि बढ्ने बताउनु भयो । उहाँकाअनुसार कृषि क्षेत्रमा तत्कालका कामसँगै दीर्घकालीन नीतिगत आधार तयार गर्ने कामलाई पनि प्राथमिकतामा राखिएको छ । मन्त्री चौधरीले नेपाललाई कृषि प्रधान देशका रूपमा अघि बढाउने पुरानो अवधारणालाई नयाँ ढङ्गले कार्यान्वयनमा लैजान आवश्यक रहेको बताउनु भयो । नेपालमा लामो समयदेखि कृषिप्रधान देश र हरियो वन नेपालको धन भन्ने विषय सुनिँदै आएपनि यी अवधारणालाई व्यवहारमा कसरी अगाडि बढाउने भन्ने विषयमा अब स्पष्ट नीति आवश्यक रहेको उहाँको भनाइ थियो ।
उहाँकाअनुसार कृषि र वन क्षेत्रलाई केवल उत्पादनसँग मात्र सिमित नराखी त्यसलाई उद्योग, बजार र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता छ । यसका लागि सरकार नीतिगत तयारीमा जुटेको उहाँले बताउनु भयो ।
मन्त्री चौधरीले कृषि क्षेत्रसँग सम्बन्धित कानून निर्माण तथा संशोधनलाई समेत प्राथमिकतामा राखिएको बताउनु भयो । कृषि विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिँदै उहाँले वन, कृषि, निकुञ्जलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित कानूनलाई समेत आवश्यकताअनुसार अघि बढाउने बताउनु भयो ।
उहाँकाअनुसार वन मन्त्रालयअन्तर्गत रहेका करिब ३५ वटा कानूनलाई समेत आवश्यक प्रक्रियामार्फत एउटा तहमा पु¥याउने तयारी भइरहेको छ । कानून तथा कार्यविधि निर्माण तत्कालै हुने प्रक्रिया नभएकाले त्यसमा निर्धारित प्रक्रियाअनुसार अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री चौधरीले कानून तथा कार्यविधि निर्माणमा जनप्रतिनिधि तथा सम्बन्धित समितिको सहभागिता महत्वपूर्ण हुने बताउनु भयो । त्यसका लागि आफूहरू प्रक्रिया अगाडि बढाइरहेको र आवश्यक छलफलमार्फत कानून निर्माण गरिने उहाँले स्पष्ट पार्नुभयो । उहाँकाअनुसार कृषि तथा वन क्षेत्रलाई उद्योगसँग जोड्ने विषयमा समेत सरकारले विभिन्न निकायसँग छलफल गरिरहेको छ । संयुक्त राष्ट्रसंघीय निकायलगायत विभिन्न एजेन्सी तथा सरोकारवाला पक्षसँग छलफल गरेर कृषि र वन क्षेत्रलाई उद्योगसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा काम भइरहेको छ ।
मन्त्री चौधरीले भन्नुभयो–‘हामीले यो सालका लागि रासायनिक मल जुन दिइरहेका छौँ, त्यसैलाई व्यवस्थित गर्न खोजिरहेका छौँ, रासायनिक मल भनेको हाम्रो नेपालमा आजको दिनसम्म उत्पादन हुँदैन । त्यसैले अन्तर्राष्ट्रिय बजारमा हामी निर्भर छौँ । अन्तर्राष्ट्रिय बजारको उतारचढावले पनि हामीलाई असर गर्छ, त्यसमा पनि तपाईंहरू सबैजना जानकार हुनुहुन्छ । अर्को कुरा प्राङ्गारिक मलको सन्दर्भमा कार्यविधि बन्ने क्रममा छ, कार्यविधि बनिरहेको छ । सबैजना नीति छलफल गरेर नीतिको आधारमा हामीले पनि काम गर्ने हो । नीतिबिना हामी अगाडि बढाउँदैनौँ। त्यो कुरामा सबै कुराका लागि अगाडि बढ्दैछौँ । अर्को कुरा, ठोस नीतिको कुरा गर्नुभयो माननीयज्यूहरूले। हामी ठोस नीति बनाउँदैछौँ । मैले हिजोको दिनमा पनि भनेँ । हामीले नेपालले, नेपाली मान्छेले, विशेष गरेर हामी युवाहरूले सधैँ एउटा सुन्दै आएको कुरा के हो त भन्दा, कृषिप्रधान देश र ‘हरियो वन नेपालको धन’ हो भनेर दुईवटा कुरा तपाईं–हामी सबैजनाले सानैदेखि सुन्दै आएको हो । यो कुरालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा नै हामी नीति बनाउन खोजिरहेका छौँ । हामी कृषि विधेयक ल्याउँदैछौँ । वन, कृषि, निकुञ्जजति पनि कानुनहरू छन्, लगायत हाम्रो वन मन्त्रालयअन्तर्गतका ३५ वटा कानुनलाई यसपटक हामीले एउटा तहमा पु¥याउँछौँ भनेर लागिरहेका छौँ । हामी कानुन, कार्यविधिको कुरा गर्दा आजको भोलि नै हुनेभन्दा पनि त्यसको प्रक्रिया छ ।'
वनबाट उत्पादन हुने काठको प्रवद्र्धधन तथा वैज्ञानिक व्यवस्थापनमा समेत जोड दिनुभयो । काठको वैज्ञानिक उत्पादन र व्यवस्थापनसँगै ‘काठ खेती’को अवधारणालाई समेत अघि बढाउने विषयमा सरकार छलफलमा रहेको उहाँको भनाइ छ । अब आवश्यक कानूनी व्यवस्थासहित अघि बढाउने तयारी रहेको मन्त्री चौधरीले बताउनु भयो । कृषि, वन र उद्योगबीचको अन्तरसम्बन्धलाई नीतिमै समेटेर कार्यान्वयनमा लैजाने सरकारको तयारी रहेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
सशस्त्र प्रहरीद्वारा सिरहाबाट ११ सय किलो गांजा बरामद
एक घण्टा अगाडि
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
एक घण्टा अगाडि
एसियाली खेलकुदमा पदकको आशा पुनम श्रेष्ठ पहिलो चरणमै पराजित
एक घण्टा अगाडि