logo-image

शनिबार, २३ साउन २०८३

वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को टिजर र पोस्टर सार्वजनिक: उमेर र सीमालाई चुनौती दिँदै सगरमाथाको चुचुरोसम्मको यात्रा

शुक्रबार, २२ साउन २०८३ · मनोरञ्जन

वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को टिजर र पोस्टर सार्वजनिक: उमेर र सीमालाई चुनौती दिँदै सगरमाथाको चुचुरोसम्मको यात्रा



काठमाडौं, साउन २२ । समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको जोखिमपूर्ण र रोमाञ्चक यात्रा समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फस्र्ट लुक पोस्टर तथा अफिसियल टिजर बाहिरिएको छ । ५० वर्ष उमेर नाघेका एक व्यक्तिले आफ्नै शारीरिक सीमितता र उमेरलाई चुनौती दिँदै देखेको आरोहणको अदम्य सपनालाई यस डकुमेन्ट्रीले पर्दामा उतारेको छ । 

केवल हिमालको सौन्दर्य र भव्यता मात्र नभई यो ५० मिनेट लामो वृत्तचित्रले आरोहणका क्रममा आइपर्ने प्राणघातक जोखिम, शेर्पा समुदायको अथक पसिना र जलवायु परिवर्तनले हिमाली पर्यावरणमा पारेको गहिरो असरलाई पनि मिहीन ढङ्गले छामेको छ । शतप्रतिशत नेपाली प्राविधिकहरूको सीप प्रयोग गरिएको यो प्रोजेक्टमा कुनै पनि कृत्रिम (आर्टिफिसियल) दृश्य समावेश नगरिएको निर्माण पक्षको दाबी छ । समुद्री सतहबाट सुरु भएर चुचुरोसम्म पुग्ने यथार्थपरक यात्रा समेट्ने सगरमाथा सम्बन्धी यो नै पहिलो वृत्तचित्र भएको उनीहरूको भनाइ छ ।

सामाजिक संस्था ‘वि विल राईज फाउण्डेसन’ ले निर्माण गरेको यो डकुमेन्ट्री निर्मल श्रेष्ठले निर्देशन गरेका हुन् । दुई वर्ष लामो अनुसन्धान र छायांकनपछि तयार भएको प्रोजेक्टको कथा निर्देशक श्रेष्ठ र सञ्चारकर्मी सन्तोष आचार्यले संयुक्त रूपमा लेखेका हुन्। यसमा वरिष्ठ सञ्चारकर्मी भुषण दाहालको दमदार भ्वाइसओभर सुन्न पाइन्छ ।

पर्दामा १८ पटक सगरमाथा चढेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र विश्वका १४ वटै अग्ला हिमशिखरसहित १० पटक सगरमाथाको सफल आरोहण गरेका निमा ग्याल्जेन शेर्पाको सङ्घर्ष देखिनेछ । यो प्रेरणादायी यात्राका महत्त्वपूर्ण पात्रका रूपमा विनोद गुरुङ, सुरज गुरुङ र स्वयम् निर्देशक श्रेष्ठ पनि प्रस्तुत छन् । अंग्रेजी र नेपाली दुवै भाषामा तयार पारिएको ‘रोड टु एभरेस्ट’ ले नेपालको पर्यटन प्रवद्र्धनमा विश्वव्यापी रूपमा सघाउने लक्ष्य राखेको छ । यसको पहिलो नेपाल प्रिमियर आगामी भदौ ६ गते (२२ अगस्ट २०२६) काठमाडौंमा आयोजना हुँदैछ । त्यसपछि भदौ २८ गते (१३ सेप्टेम्बर २०२६) हङकङमा अन्तर्राष्ट्रिय प्रिमियर गरिनेछ । लगत्तै स्वदेश तथा विदेशका विभिन्न सिनेमा हल र अन्तर्राष्ट्रिय मञ्चहरूमा वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ ।

सार्वजनिक टिजर र पोस्टरले भावनात्मक, जोखिमयुक्त हिमाल यात्रा र मानव साहसको जीवन्त झलक पेस गर्दै दर्शकमाझ कौतूहल बढाएको छ । सगरमाथालाई एउटा हिमाल मात्र नमानेर साहस र अठोटको प्रतीकका रूपमा चिनाउने यसको मूल ध्येय हो । 

ताजा समाचार