logo-image

बिहिबार, ०३ वैशाख २०८३

केपी ओलीको बन्दीप्रत्यक्षीकरण मुद्दा: सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

सोमबार, १६ चैत २०८२ · राजनीति

केपी ओलीको बन्दीप्रत्यक्षीकरण मुद्दा: सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग


काठमाडौं, चैत्र १६।  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतमा राख्नुको कारण माग गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले आइतबार ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै विपक्षी सरकार पक्षसँग लिखित जवाफ माग गर्ने निर्णय गरेको हो। अदालतले निवेदकको माग बमोजिम तत्काल रिहा गर्ने गरी अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ।

ओलीको तर्फबाट उनकी धर्मपत्नी राधिका शाक्यले शनिबारको पक्राउ गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको थियो। गत भदौ २३ र २४ गतेका घटनाहरूको अनुसन्धानका सिलसिलामा प्रहरीले ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नियन्त्रणमा लिएको थियो।

यसअघि लेखकको हकमा पनि अदालतले यस्तै प्रकारको आदेश जारी गरिसकेको छ। अब सरकारी निकायले दुवै नेतालाई पक्राउ गर्नुको ठोस कानूनी आधार र प्रमाणसहित अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्नुपर्नेछ।