बिहिबार, ३१ वैशाख २०८३
बिहिबार, ३१ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ३१ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा प्रयोग भएका असंसदीय र आपत्तिजनक शब्दहरू संसद्को अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम १२१ को खण्ड (घ) बमोजिम सांसदहरूलाई आफ्नो अभिव्यक्तिमा संवेदनशील हुन ध्यानाकर्षण गराउनु भयो ।
उक्त नियमावलीले बैठकमा बोल्दा अशिष्ट, अश्लील, अपमानजनक वा सार्वजनिक शिष्टाचार र नैतिकताको प्रतिकूल हुने गरी बोल्न निषेध गरेको छ । साथै, कुनैपनि व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा असंसदीय शब्दको प्रयोग गर्न नपाइने प्रावधानबारे उहाँले स्मरण गराउनु भयो । यसै क्रममा, सभामुख अर्यालले २०८० वैशाख २९ गतेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले प्रयोग गर्नुभएका केही शब्दहरू नियमावली विपरित रहेको भन्दै हटाउन आदेश दिनुभयो ।
सांसद पराजुलीले आफ्नो सम्बोधनका क्रममा प्रयोग गर्नुभएको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी’ भन्ने वाक्यांशहरू संसदको गरिमा प्रतिकूल रहेको ठहर गर्दै सचिवालयलाई ती शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिइएको हो । सभामुख अर्यालले आगामी दिनमा आफ्ना धारणा राख्दा संसदीय मर्यादा र नियमावलीको पूर्ण पालना गर्न सम्पूर्ण सदस्यहरूलाई सचेत गराउनुभएको छ । –न्युज एजेन्सी नेपाल
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
२ घण्टा अगाडि