logo-image

बुधबार, २७ जेठ २०८३

सडक दुर्घटनामा पाँचको मृत्यु, केही घाइते उपचाररत

मङ्गलबार, २६ जेठ २०८३ · समसामयिक

सडक दुर्घटनामा पाँचको मृत्यु, केही घाइते उपचाररत


काठमाडौं, जेठ २६ । सर्लाहीको ईश्वरपुर नगरपालिका–११ रामनगरस्थित सडकमा रामनगरदेखि खैरातर्फ जाँदै गरेको लु.प्र ०१–००५ प ४०४५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय सोनफि राय यादवको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राम जानकी अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित सडकमा बिग्रिएर रोकी राखेको ना. ५ ख ९३३ नम्बरको ट्रकमा लु.१२ प ९८४० नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–७ हस्नापुर बस्ने ३८ वर्षीय जिबन गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु छेडास्थित सडकमा बा.९१ प ५५०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार भक्तपुर चुनदेवी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–६ घर भएका २७ वर्षीय सिद्धार्थ तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको  हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाटइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 
काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ ढाइटारस्थित सडकमा ढाइटारबाट कुन्ताबेशीतर्फ आउँदै गरेको बा.२७ प ६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया हेम कुमारी गौतमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मण्डनदेउपुर नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
मोरङको लेटाङ नगरपालिका–२ बुधबारेस्थित सडकमा प्र.१–०२–०४१ प ५५६२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२ धोबी बस्ने ३६ वर्षीया कञ्चन राईको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको आर्या न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी अन्य १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा समाचार