logo-image

बुधबार, ३० वैशाख २०८३

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

बुधबार, ३० वैशाख २०८३ · अर्थ

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

काठमाडौं, वैशाख ३० । धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैत मसान्तसम्म नेपालको धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो । अघिल्लो चैतमा धितोपत्र बजार पुँजीकरण पनि ४४ खर्ब २५ अर्ब पुगेको थियो । 

कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा बजार पुँजीकरणको अनुपात ७१.३८ प्रतिशतबाट बढेर ७३.२३ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड मा सूचीकृत कम्पनीहरूको संख्या २७० बाट बढेर २९४ पुगेको छ । तीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १०३ जलविद्युत कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।

धितोपत्र बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरूको हिस्सा सबैभन्दा बढी ५०.२ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत कम्पनीहरूको हिस्सा १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, लगानी कम्पनीको ७ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटल क्षेत्रको ३.३ प्रतिशत तथा अन्य समूहको ८.५ प्रतिशत हिस्सा रहेको छ ।

०८२ चैत मसान्तसम्म नेप्सेमा सूचीकृत ९ अर्ब ४८ करोड कित्ता शेयरको चुक्ता मूल्य ९३३ अर्ब ८९ करोड पुगेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कुल १ खर्ब ३२ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । यसमध्ये ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर३९ अर्ब ८९ करोड बराबरको बोनस शेयर, ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर २७ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड ३ अर्ब ४५ करोड बराबरको डिबेन्चर ९७ करोड १७ लाख बराबरको एफपीओ तथा २ करोड २९ लाख बराबरका अन्य धितोपत्र रहेका छन् ।

त्यसैगरी समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल ४१ अर्ब ५३ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले २७ अर्ब २३ करोड बराबरको म्युचुअल फण्ड, ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, २० करोड बराबरको डिबेन्चर तथा ५ करोड बराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको जनाएको छ । –न्युज एजेन्सी नेपाल

ताजा समाचार