logo-image

सोमबार, ०८ असार २०८३

रास्वपा महाधिवेशनको दोस्रो दिन आज: बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस हुँदै

सोमबार, ०८ असार २०८३ · राजनीति

रास्वपा महाधिवेशनको दोस्रो दिन आज: बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस हुँदै

चितवन, असार ८ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको दोस्रो दिन आज सोमबार बन्दसत्र  सुरु हुँदैछ। नारायणगढमा जारी महाधिवेशनको बन्दसत्रमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले सांगठनिक, आर्थिक र राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

महाधिवेशनमा पार्टीको आन्तरिक संरचनालाई व्यवस्थित बनाउन विधान संशोधनसम्बन्धी प्रतिवेदन पनि पेस हुँदैछ। सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त संशोधन प्रस्तावमाथि छलफल र अनुमोदनका लागि एक घण्टाको समय विनियोजन गरिएको छ।

यसैगरी, पार्टीको नीतिगत दिशा स्पष्ट पार्न उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'अर्थ–राजनीतिक प्रस्तावना' प्रस्तुत गर्ने कार्यक्रम छ। बन्दसत्रको मुख्य आकर्षणका रूपमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन रहनेछ। उनले देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र 'मिसन ८४' केन्द्रित कार्यदिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्नेछन्। यस प्रतिवेदनमाथि गहन छलफलका लागि १ घण्टा छुट्याइएको छ।

प्रतिवेदनहरूमाथिको छलफल र अनुमोदन सकिएपछि महाधिवेशन आयोजक समितिले सम्पूर्ण जिम्मेवारी पार्टीको केन्द्रीय निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ। त्यसपछि नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुनेछ।

रास्वपा निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदान भोलि (मंगलबार) बिहान ८:३० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ। मतदान सम्पन्न भएको दुई घण्टाभित्रै मतगणना सुरु गरी नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।

पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको परिणाम सार्वजनिक भएपछि दोस्रो चरणका अन्य पदाधिकारी पदहरूका लागि थप कार्यतालिका सार्वजनिक गरिने  छ।

ताजा समाचार