logo-image

शनिबार, २० भदौ २०८३

सपना प्रधान मल्लले सम्हालिन् कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

बुधबार, १८ चैत २०८२ · राजनीति

सपना प्रधान मल्लले सम्हालिन् कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी

 

काठमाडौं, चैत १८ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नुभएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत हिजो मंगलबार उमेर हदका कारण अवकाश भएपछि मल्लले न्यायलयको नेतृत्व लिनुभएको हो।

मल्लले नेतृत्व सम्हाले पनि नयाँ प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा भने संवैधानिक रिक्तता देखिएको छ। संविधानको धारा २८४ (३) अनुसार, प्रधानन्यायाधीश अवकाश हुनुभन्दा कम्तीमा एक महिनाअघि नै संवैधानिक परिषद्ले नयाँ नाम सिफारिस गर्नुपर्ने प्रावधान छ। तर, परिषद्को बैठक बस्न नसक्दा यो प्रक्रिया अझै टुुङ्गिएको छैन। 

अब प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहले बैठक बोलाएर सिफारिस नगरेसम्म सर्वोच्च अदालत कायममुकायम नेतृत्वकै भरमा चल्नेछ।

नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने सदस्यहरूमा प्रधानन्यायाधीश वा कायममुकायम, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र उपसभामुख रहन्छन्; जसमा प्रधानन्यायाधीशको सिफारिस गर्दा कानुन मन्त्रीको पनि विशेष उपस्थिति रहन्छ। 

हाल कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएकी सपना प्रधान मल्ल नेपालको न्यायिक इतिहासमा दोस्रो महिला प्रधानन्यायाधीश बन्ने क्रममा हुनुहुन्छ। न्यायाधीश हुनुअघि महिला अधिकार र मानव अधिकारको क्षेत्रमा प्रख्यात कानुन व्यवसायी रहनुभएकी मल्ल २०७३ साउन १७ गते सर्वोच्चको न्यायाधीश नियुक्त हुनुभएको थियो। वरिष्ठताका आधारमा प्रधानन्यायाधीश बन्ने निश्चित प्रायः रहनुभएकी मल्लले यदि पूर्णकालीन नियुक्ति पाएमा उहाँको कार्यकाल २०८५ कात्तिक ३० गतेसम्म रहनेछ र उहाँ स्वयं अब बस्ने संवैधानिक परिषद्को बैठकमा सदस्यका रूपमा सहभागी हुनुहुनेछ।