logo-image

बिहिबार, १८ भदौ २०८३

रास्वपाको सिफारिसमा प्रधानमन्त्रीले गरे श्रममन्त्री साहलाई बर्खास्त

बिहिबार, २६ चैत २०८२ · राजनीति

रास्वपाको सिफारिसमा प्रधानमन्त्रीले गरे श्रममन्त्री साहलाई बर्खास्त
 

रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र लेख्दै मन्त्री साहले पदीय मर्यादाको धज्जी उडाएको उल्लेख गर्नुभएको थियो। मन्त्री साहले लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नै श्रीमतीलाई नियुक्त गरी नियमित कार्यमा संलग्न गराएको पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्ययनबाट पुष्टि भएको थियो। आफ्नै मन्त्रीबाट यस्तो अनैतिक कार्य हुनुले पार्टीको छवि, आदर्श र सिद्धान्तमा आँच पुगेको भन्दै रास्वपाले उनलाई 'राइट टु रिकल' अन्तर्गत फिर्ता बोलाउन सिफारिस गरेको थियो।

यसै प्रकरणमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीर्यता नदेखाएको भन्दै रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन प्रधानमन्त्रीसमक्ष माग गरेको छ। आफ्नै पार्टीको सिफारिसमा मन्त्री पदमुक्त हुनुलाई रास्वपाले सुशासन र राजनीतिक नैतिकताको कडा सन्देशका रूपमा व्याख्या गरेको छ। मन्त्री साह पदमुक्त भएसँगै अब श्रम मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्नेबारे थप निर्णय हुन बाँकी छ।