आइतबार, १७ जेठ २०८३
शुक्रबार, २० चैत २०८२ · मनोरञ्जन
काठमाडौं, चैत्र २० । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘रसियन फिल्म डेज’ को औपचारिक उद्घाटन भएको छ। कमलपोखरीस्थित रसियन हाउसमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच नेपालका लागि रुसी मिनिस्टर काउन्सिलर रिनचिन सक्साएभ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले संयुक्त रूपमा महोत्सवको उद्घाटन गर्नुभयो।
कार्यक्रममा बोल्दै मिनिस्टर काउन्सिलर सक्साएभले समाजमा चलचित्रको प्रभाव विशेष रहने र यसले दुई देशका चलचित्रकर्मीहरूबीच सद्भाव कायम राख्न मद्दत पुर्याउने बताउनुभयो। उहाँले निफको नवौँ संस्करणको उद्घाटनका क्रममा नेपालको पहिलो रङ्गीन चलचित्र ‘कुमारी’ का निर्देशक, नायिका र छायाकारसँग भेट्न पाउनु आफ्नो लागि विशेष अनुभव रहेको समेत स्मरण गर्नुभयो।
ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले नेपाल र रुसबीचको ७० वर्ष लामो मित्रताको अवसरमा निफ र रसियन फिल्म डेजको सहकार्यले विशेष अर्थ राख्ने बताउनुभयो। निफका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य राख्दै यस सहकार्यले दुई देशको सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो।
विश्वकै पहिलो अन्तरिक्ष फिल्मदेखि थ्रिलरसम्म महोत्सवको सुरुवात ऐतिहासिक थ्रिलर फिल्म ‘अगस्ट’ को प्रदर्शनबाट गरिएको छ। दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा आधारित यो फिल्म सोभियत संघको ‘काउन्टर इन्टेलिजेन्स एजेन्सी’ को संघर्षमा आधारित छ। इल्या लेबेदेव र निकिता वैसोत्स्कीले यसको निर्देशन गरेका हुन्।
यसपटकको विशेष आकर्षणका रूपमा क्लिम शिपेन्कोद्वारा निर्देशित फिल्म ‘द च्यालेन्ज’ रहनेछ, जुन अन्तरिक्षमा छायाङ्कन गरिएको विश्वकै पहिलो चलचित्र हो। शून्य गुरुत्वाकर्षणमा एक चिकित्सकले अन्तरिक्ष स्टेसन पुगेर गर्ने जटिल शल्यक्रियाको साहसिक कथा यसमा समेटिएको छ।
यसका साथै एडभेन्चर जनराको ‘द डिनो फ्यामिली’ र बुलिङको मुद्दा उठान गरिएको ‘अल रङ गर्ल’ पनि महोत्सवमा प्रदर्शन हुनेछन्। यी सबै चलचित्रहरू रसियन हाउसमा नि:शुल्क हेर्न सकिने आयोजकले जनाएको छ। कार्यक्रममा अनास्थासिया खक्खलोभाले रसियन हाउसमा भइरहेको ‘एआई फिल्म वर्कसप’ मा सहभागी हुन समेत आग्रह गर्नुभयो।