logo-image

मङ्गलबार, ०२ भदौ २०८३

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपाको ‘क्याण्डिडेट क्लव’: गाउँपालिकाका उम्मेदवारले अब आवेदन दिन पाउने

मङ्गलबार, ०२ भदौ २०८३ · राजनीति

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपाको ‘क्याण्डिडेट क्लव’: गाउँपालिकाका उम्मेदवारले अब आवेदन दिन पाउने

काठमाडौं, भदौ २ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने आकांक्षीको मूल्यांकन र छनोटका लागि ‘क्याण्डिडेट क्लव’ सञ्चालनमा ल्याएको छ । 
सोमवार चःमतिस्थित पार्टी केन्द्रिय कार्यालयमा सभापति रवि लामिछानेले ‘क्याण्डिडेट क्लव’को घोषणा गर्नुभएको हो । उहाँले उम्मेदवार छनोटअघि आकांक्षीको कानूनी, आर्थिक, सामाजिक तथा पारिवारिक अवस्थालगायत विषयको मूल्यांकन गरि योग्य र सक्षम प्रतिनिधि छनोटमा सहयोग पुर्याउने उद्देश्यले ‘क्याण्डिडेट क्लव’ सञ्चालनमा ल्याइएको बताउनु भयो । उहाँले स्थानीय तहको उम्मेदवार बन्नुअघि उम्मेदवारको राजनीतिक तथा अन्य मापदण्ड क्याण्डिडेट क्लवमा जाँच गरिने बताउनु भयो । उहाँले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य पदका उम्मेदवारले अबदेखि आवेदन दिनसक्ने समेत बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप्स ‘आरएसपी’ गएर आवेदन दिन सकिने समेत बताउनु भयो । उहाँले पार्टीलाई आवश्यक नेतृत्व खोज्ने प्रक्रियामा ‘मेरिटोक्रेसी’ कायम गर्न ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडेमी’को अवधारणा अघि सारिएको समेत बताउनु भयो । 
उहाँले भन्नुभयो,‘पार्टीलाई आवश्यक परेको नेतृत्वको खोजी गर्ने राजनीतिसँगैको एउटा मेरिटोक्रेसीको बिन्दु के होला भन्ने सोचेर हामीले ‘क्यान्डिडेट क्लव’ र ‘लिडरशिप एकेडेमी’को अवधारणा ल्याएका हौँ । यो एउटा दलको लागि मात्र नभई नेपालको समग्र राजनीतिमा योगदान दिन सकिन्छ कि भनेर ल्याइएको हो । उम्मेदवार बन्नका लागि आवश्यक पर्ने कतिपय अवस्थामा केही कानुनी झमेलामा पो छ कि ? केही आर्थिक वा सामाजिक किसिमका अप्ठ्याराहरू पो छन् कि ? पारिवारिक किसिमका झमेलाहरूमा पो छ कि ? भन्ने कुरा जान्न जरुरी रहेछ । नेतृत्वमा आएका कयौँ मानिसहरूका कयौँ कुराहरू उठ्दै आउँछन् । त्यसकारणले ‘क्यान्डिडेट क्लब’भित्र ल्याएर ती सबै कुराहरूलाई हेरेर राजनीतिक रूपमा, सामाजिक रूपमा र अन्य मापदण्डका आधारमा उम्मेदवार चयन गर्नको लागि यो क्लव गठन गरिएको हो । शुरुवातमा हामी गाउँपालिकाबाट सुरु गर्दैछौँ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र गाउँपालिका अन्तर्गतका वडा, वडाका अध्यक्षलगायतका जति पनि पदहरू राजनीतिक पद छन् । त्यसका लागि आवेदन आजबाट औपचारिक रूपमा खुला गर्न गइरहेको छौँ आजदेखि आउँदो स्थानीय तह निर्वाचनमा गाउँपालिकामा उम्मेदवारी दिने सबैले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिनसक्नुहुनेछ ।’
सभापति लामिछानेले ‘क्याण्डिडेट क्लब’लाई रास्वपाभित्रको उम्मेदवार छनोटको प्रक्रियामा मात्र सिमित नराखी समग्र नेपाली राजनीतिमा योगदान पुर्याउने उद्देश्यले ल्याइएको समेत बताउनु भयो ।