बुधबार, ३० वैशाख २०८३
बुधबार, ३० वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ३० । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गर्न लागिएको उक्त सम्मेलनको प्रश्ताव पार्टी सभापतिले बैठकमा राख्नुभएको थियो । बुधवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको केन्द्रिय समितिको बैठकले उक्त निर्णय अनुमोदन गरेको पार्टीका सचेतक प्रकाशचन्द्र परियारले बताउनु भयो । पार्टी सचेतक परियारकाअनुसार सम्मेलन सम्पन्न गर्नका लागि पार्टीको मौजुदा केन्द्रिय समितिलाई नै ‘आयोजक समिति’ मा रूपान्तरण गरेको छ । आयोजक समितिको नेतृत्व पार्टी सभापतिले नै गर्ने निर्णय भएको छ । सम्मेलनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू समेत गठन गरिएको छ । जसमा प्रतिवेदन तथा प्रश्ताव मस्यौदा समिति, आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार समिति, सुरक्षा समिति, सूचना प्रविधि समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार समिति, र सांस्कृतिक कार्यक्रम समिति रहेका छन् । त्यसैगरी अतिथि सत्कार समिति, विधान संशोधन समिति र निर्वाचन आयोगलाई पनि परिचालन गरिएको छ । संगठन विभाग भने पदेन रूपमा व्यवस्थापनमा रहनेछ ।
सचेतक परियारले ७७ वटै जिल्लाबाट करिव २ हजार ५ सय प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको जानकारी दिनुभयो । जिल्लाहरूसँगको समन्वयका लागि केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढेको छ ।
राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा सातै प्रदेशमा विशेष प्रदेश अधिवेशन हुने कार्यतालिका समेत सार्वजनिक गरिएको छ । जसअनुसार जेठ २६ गते वागमती, २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी, ३० गते लुम्बिनी, ३१ गते कर्णाली र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन तोकिएको छ ।
प्रतिनिधि छनोटका सन्दर्भमा, प्रवास नेपाली सम्पर्क विभागबाट न्युनतम ३ देखि ११ जनासम्म सहभागी हुने व्यवस्था गरिएको छ । पालिका अधिवेशन सम्पन्न नभएको खण्डमा हालका पालिका संयोजकहरू नै महाधिवेशन प्रतिनिधि हुने प्रावधान तय गरिएको छ । साथै, रास्वपाको तर्फबाट निर्वाचित फेटा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् ।
पार्टीले यस सम्मेलनलाई प्रविधिमैत्री र डिजिटल माध्यमको अधिकतम प्रयोग गरी भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । सत्ताधारी दलको रूपमा आफ्नो स्थापना दिवसकै दिन शुरु हुन लागेको यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण जनशक्ति परिचालन गरिने सचेतक परियारले बताउनु भयो । –न्युज एजेन्सी नेपाल