मङ्गलबार, १६ भदौ २०८३
आइतबार, १० जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले ७७ वटै जिल्ला र सातै प्रदेशमा निर्वाचन समिति गठन गर्नेसहित महाधिवेशन प्रतिनिधिहरूको नामावली संकलनका लागि समयसीमा तय गरेको छ।
मुख्य कार्यतालिका र समयसीमा:
जिल्ला र प्रदेश निर्वाचन समिति गठन: जेठ ७ गतेदेखि जेठ १५ गतेभित्र।
आधिकारिक परिपत्र र माइन्युट प्रतिलिपि वितरण: जेठ १० गतेभित्र।
स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदन संकलन: जेठ २० गतेभित्र।
महाधिवेशन प्रतिनिधिको नामावली टुङ्गो लगाउने: जेठ २५ गतेभित्र।
जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन बुझाउने म्याद: जेठ ३० गतेभित्र।
प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण पेश गर्ने: असार ५ गतेभित्र।
पार्टीले यस महाधिवेशनमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको छ। विद्युतीय मतदान मेसिनको प्रयोगसम्बन्धी छलफल र तयारीका लागि जेठ ७ गतेदेखि असार ५ गतेसम्मको समय छुट्ट्याइएको छ।
केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्तान्तरित सूचनामा तोकिएको समयभित्रै सम्पूर्ण कार्यहरू सम्पन्न गर्नका लागि सबै प्रदेश समितिलाई आ-आफ्नो जिल्ला समितिसँग समन्वय गरेर अघि बढ्न निर्देशन दिइएको छ।
