logo-image

बुधबार, १७ भदौ २०८३

रास्वपाद्वारा श्रम र उद्योग दुई मन्त्रीको नाम सिफारिस, उपसभामुखमा सत्ता गठबन्धनकी ठाकुरलाई समर्थन गर्ने निर्णय

शुक्रबार, २७ चैत २०८२ · राजनीति

रास्वपाद्वारा श्रम र उद्योग दुई मन्त्रीको नाम सिफारिस, उपसभामुखमा सत्ता गठबन्धनकी ठाकुरलाई समर्थन गर्ने निर्णय

काठमाडौं, चैत २७ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठकले मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद मनिष झाले यसबारे जानकारी गराउनुभएको हो ।

बैठकले रिक्त रहेका दुई मन्त्रालयका लागि मन्त्रीहरूको नाम समेत टुङ्गो लगाएको हो ।  श्रम मन्त्रीका रूपमा सप्तरीका रामजी यादव र उद्योग मन्त्रीका रूपमा महोत्तरीकी गौरीकुमारी यादवलाई मनोनयन गरिएको छ । उहाँहरूको शपथ ग्रहण आजै साँझसम्म हुने सम्भावना रहेको झाले जानकारी दिनुभयो ।

यस निर्णयसँगै मन्त्रिपरिषद्मा महिलाको उपस्थिति करिव ४० प्रतिशत पुग्ने र मधेस प्रदेशको प्रतिनिधित्व समेत बलियो हुने रास्वपाको दाबी छ । बैठकले मन्त्रालयहरूमा पार्टीका कार्यकर्ता र सांसदहरूको अनावश्यक भीडभाड नगर्न निर्देशन दिएको छ । साथै, आजैदेखि पार्टीको केन्द्रिय कार्यालयमा जनसम्पर्कका लागि दैनिक एक जना केन्द्रिय सदस्य र एक जना सांसद अनिवार्य उपस्थित हुने ‘क्यालेन्डर’ शुरु गरिएको छ । संसदको २० दिने ‘सेसन ब्रेक’ शुरु हुन लागेकाले यस अवधिमा सांसदहरूलाई जिल्ला समन्वय र साङ्गठनिक सुदृढीकरणमा लाग्न समेत आग्रह गरिएको छ । 

बैठकले उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँलाई समर्थन गर्न पार्टी सभापति र संसदीय दलको नेताले संयुक्त रूपमा निर्देशन दिनुभएको झाले बताउनु भयो । 

राप्रपाका उम्मेदवारलाई सहयोग गर्ने विषयमा भएको भनिएको सहमति र ‘धोका’ को चर्चाबारे सोधिएको प्रश्नमा झाले आफूलाई त्यस्तो कुनै संवादबारे जानकारी नभएको बताउनु भयो । उहाँले पार्टीमा यसबारे कुनै एजेण्डा वा छलफल नभएको स्पष्ट पार्नुभयो ।

–न्युज एजेन्सी नेपाल