logo-image

मङ्गलबार, १६ भदौ २०८३

रास्वपा सभापति रवि लामिछाने आज भारत प्रस्थान गर्दै, उच्चस्तरीय राजनीतिक भेटघाट र अयोध्या भ्रमणको तालिका

सोमबार, १८ जेठ २०८३ · राजनीति

रास्वपा सभापति रवि लामिछाने आज भारत प्रस्थान गर्दै, उच्चस्तरीय राजनीतिक भेटघाट र अयोध्या भ्रमणको तालिका

 

काठमाडौं, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज (सोमबार) भारत प्रस्थान गर्दै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उहाँ भारत जान लाग्नुभएको हो ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार सभापति लामिछाने जेठ १८ गतेदेखि जेठ २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारतमा रहनुहुनेछ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले यो उच्चस्तरीय भेटघाटका लागि आवश्यक समन्वय गरिरहेको प्रवक्ता झाले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा लामिछानेले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक छलफललाई तीव्रता दिने कार्यक्रम रहेको छ । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवालेले पनि भ्रमणको पुष्टि गर्दै लामिछानेले भाजपा अध्यक्ष नितिन नवीन र अन्य वरिष्ठ नेताहरूसँग विशेष संवाद गर्ने कार्यतालिका रहेको जनाउनुभएको छ ।

राजनीतिक भेटघाटका अलावा लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ । साथै, आफ्नो व्यक्तिगत तालिका अनुसार उहाँले प्रसिद्ध धार्मिक स्थल अयोध्याको समेत भ्रमण गर्ने तयारी गर्नुभएको छ ।

लामिछानेको नेतृत्वमा रहेको ५ सदस्यीय भ्रमण टोलीमा रास्वपाका अन्य शीर्ष नेताहरू समेत सहभागी हुनुहुन्छ । टोलीमा सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य (सांसद) विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य (सांसद) दीपक बोहोरा, पत्नी निकिता पौडेल, प्रदीप आचार्य रहेका छन् ।

नेपाल-भारत सम्बन्धमा नयाँ आयामको अपेक्षा
रास्वपाले यस भ्रमणबाट नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध अझ बलियो र प्रगाढ हुने विश्वास लिएको छ । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा र भारतको सत्तारुढ दल भाजपाबीचको यो संवादले दुई देशका राजनीतिक दलहरूबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । सभापति लामिछाने जेठ २२ गते (जुन ५) मा नेपाल फर्किनुहुनेछ ।