logo-image

मङ्गलबार, १२ जेठ २०८३

किसानलाई मलको व्यवस्था नभएकोमा रास्वपा सांसद सिंहको आपत्ति

मङ्गलबार, १२ जेठ २०८३ · राजनीति

किसानलाई मलको व्यवस्था नभएकोमा रास्वपा सांसद सिंहको आपत्ति

काठमाडौं, जेठ १२ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मलको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । 

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले रोपाईँ शुरु हुने बेला भएकाले सरकारले तत्काल मलको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले सरकारले हालसम्म पनि किसानलाई मल उपलब्धता नगराएको उल्लेख गर्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । सांसद सिंहले उखु किसानको भुक्तानीमा ढिलाई नगर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘उखु किसानले अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् । यसमा म सरकारको ध्यान आकृष्ट गराउन चाहन्छु कि चाँडै उखु किसानको भुक्तानी होस । र, सरकारले दिने अनुदान पनि चाँडै उपलब्ध होस । दोस्रो कुरा म सरकारसँग आग्रह गर्न चाहन्छु कि अव रोपाईंको सिजन सुरु हुने बेला छ । पर्याप्त मलको व्यवस्था सरकारले गरोस । किनकी अहिलेसम्म मलको उपलब्धता हुन सकेको छैन । अब १०/१५ दिन पछि रोपाईंको सिजन शुरु हुन्छ । तेस्रो बागमतीको कटानको उचित व्यवस्थापन गरियोस् ।’

सांसद सिंहले वागमती नदीको कटानबाट पीडामा परेका नागरिकलाई राहत दिने काममा पनि सररकारलाई प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल

ताजा समाचार