मङ्गलबार, ०९ असार २०८३
मङ्गलबार, ०९ असार २०८३ · राजनीति
चितवन, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत आज दिउँसो २ बजेदेखि बन्द सत्र सुरु हुँदैछ । नयाँ कार्यतालिका अनुसार बिहान १० बजेदेखि नै प्रतिनिधि दर्ताको काम भइरहेको छ।
चितवनको भरतपुरस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा आइतबार पार्टी सभापति रवि लामिछाने र विशिष्ट अतिथि एवं प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त रूपमा उद्घाटन गरिएको यस महाधिवेशनमा देशभरबाट करिब ४,५०० प्रतिनिधिहरू सहभागी छन्।
आजको बन्द सत्रमा अनुशासन, वित्तीय, सङ्गठनात्मक, विधान, अर्थ-राजनीतिक र राजनीतिक प्रतिवेदनहरू पेश गरी व्यापक छलफल र परिमार्जनसहित पारित गर्ने कार्यसूची रहेको छ। प्रतिवेदनहरू पारित भएलगत्तै पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरी सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई सुम्पिएर नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाइनेछ।
यसैबीच, प्रतिनिधिहरूको नामावलीमा केही प्राविधिक त्रुटि, नाम छुट्ने र सदस्यता नम्बर दोहोरिने जस्ता समस्या देखिएकाले दाबी-विरोधको फारममार्फत संगठन विभागले त्रुटि सच्याउने कार्यलाई तीव्र रूपमा अघि बढाएको नेता श्रेष्ठले जानकारी दिएका छन्। यस महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी कार्यदिशा, नीति र सङ्गठन विस्तारका महत्वपूर्ण एजेन्डाहरू तय गर्ने विश्वास लिइएको छ।
