आइतबार, ०७ असार २०८३
आइतबार, ०७ असार २०८३ · राजनीति
काठमाडौं असार ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्दै तयारीलाई तीव्र बनाउने निर्णय गरेको हो।
बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा केन्द्रीय महाधिवेशन मूल आयोजक समिति समेत गठन गरेको छ। समितिमा केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी, केन्द्रीय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन्।
बैठकले केन्द्रीय निर्वाचन समितिले पेश गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिका पनि पारित गरेको छ। महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन पार्टीले संगठन विस्तार तथा आन्तरिक निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरेको छ।
निर्णयअनुसार भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्र केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।
त्यसैगरी, असोज १५ गतेदेखि २४ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ। राप्रपाले महाधिवेशनलाई केन्द्रमा राखेर देशव्यापी रूपमा संगठन सुदृढीकरण र सदस्यता विस्तार अभियानलाई समेत अघि बढाउने जनाएको छ।