logo-image

आइतबार, ०७ असार २०८३

रास्वपाको महाधिवेशनमा राप्रपा अध्यक्ष लिङदेन सहभागी

आइतबार, ०७ असार २०८३ · राजनीति

रास्वपाको महाधिवेशनमा राप्रपा अध्यक्ष लिङदेन सहभागी

काठमाडौं, असार ७ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुग्नुभएको छ ।
चितवनमा आयोजित महाधिवेशनमा जाने क्रममा भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुर गर्दै अध्यक्ष लिङदेनले एउटा राजनीतिक दलको महाधिवेशनमा अर्को दलका नेताले शुभकामना दिने विषयलाई स्वाभाविक र सुखद् परम्परा भएको बताउनु भयो । अध्यक्ष लिङदेनले गत फागुनमा सम्पन्न निर्वाचनमा अभूतपूर्व जनमत प्राप्त गरेको र जनताको विशिष्ट चाहनाको प्रतिनिधित्व गर्ने पार्टीको ऐतिहासिक महाधिवेशनमा सहभागी हुनु एक जिम्मेवार राजनीतिक नेताको कर्तव्य भएको बताउनु भयो । उहाँले रास्वपाको यस अवसरमा आफ्नो उपस्थिति राजनीतिक संस्कार र जिम्मेवारीवोधको प्रतिक भएको समेत उल्लेख गर्नुभयो । 
सोही क्रममा अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राप्रपाको आगामी महाधिवेशनका बारेमा समेत जानकारी दिनुभयो । आम निर्वाचनका कारण केही समय पछि सरेको राप्रपाको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते गर्ने निर्णय भएको उहाँले स्पष्ट पार्नुभयो । 
उक्त महाधिवेशनले पार्टीको नेतृत्व चयन गर्नुका साथै आगामी कार्ययोजना, नीति निर्माण र विगतको समीक्षा गर्ने उहाँको भनाइ छ । महाधिवेशन नै राजनीतिक दलको महत्वपूर्ण वैचारिक र साङ्गठनिक थलो भएकाले सबै नीतिगत निर्णयहरू त्यहीँबाट हुने उहाँले बताउनु भयो । पार्टीभित्रको आन्तरिक असन्तुष्टि र केही नेताहरूको बहिर्गमनका विषयमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले कुनैपनि सदस्यले पार्टी छाड्नु दुःखद् पक्ष भएको बताउनु भयो । गत आम निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा फरक मत राख्ने केही नेताहरु हाल पार्टीबाट बाहिरिएको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल