बिहिबार, २९ असोज २०८३
सोमबार, २२ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ २२ । देशका विभिन्न जिल्लामा आगामी केही दिन स–साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, नारायणी, कर्णाली र महाकाली नदी प्रणालीका विभिन्न सहायक नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने जनाएको छ।
पूर्वानुमानअनुसार कोशी नदी प्रणालीअन्तर्गतका केही नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। समकोशी, चतरा, तमोर, त्रिवेणी, अरुण, सिस्ने, दूधकोशी, खुवाखोला, तामाकोशी र सुनकोशी क्षेत्रका नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
त्यसैगरी नारायणी नदी प्रणालीअन्तर्गत नारायणी, देवघाट, त्रिशूली, बेत्रावती, बूढीगण्डकी, आँबुखैरेनी, मर्स्याङ्दी, बिमलनगर, सेती, दमौली र कालीगण्डकी क्षेत्रमा पनि नदीको बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान गरिएको छ। कर्णाली नदी प्रणालीका कर्णाली, चिसापानी, असाराघाट, भेरी, रानीघाट तथा पश्चिम सेतीलगायत क्षेत्रमा समेत सतर्कता आवश्यक रहेको जनाइएको छ।
महाकाली र कन्काई नदीमा पनि पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ। यद्यपि कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा भने हाल सामान्य अवस्था रहने पूर्वानुमान गरिएको छ।
बाढीको मध्यम जोखिम रहेका जिल्लामा ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, सुर्खेत, दैलेख, अछाम, कालिकोट, बाजुरा, बझाङ, बाँके, बर्दिया, चितवन, बैतडी, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरलगायत जिल्ला रहेका छन्।
महाशाखाले ती जिल्लामा रहेका स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने र केही स्थानमा आकस्मिक बाढीको जोखिम रहने जनाएको छ। वर्षा तीव्र भएमा खोल्सा तथा नदीमा अचानक पानीको बहाव बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सावधानी अपनाउन आग्रह गरिएको छ।
नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई नियमित रूपमा मौसम र बाढीसम्बन्धी सूचना हेर्न तथा सुन्न आग्रह गरिएको छ। आवश्यक परे सुरक्षित स्थानमा जानका लागि पहिल्यै तयारी गर्न र रातिको समयमा विशेष सतर्कता अपनाउन पनि सुझाव दिइएको छ।
स्थानीय तह तथा सरोकारवाला निकायलाई नदीको अवस्था निरन्तर निगरानी गर्न, स्थानीय समुदायलाई समयमै सूचना दिन र आवश्यक उद्धार तथा राहत तयारी अवस्थामा राख्न भनिएको छ। जोखिम बढेमा सम्बन्धित निकायको निर्देशनअनुसार सुरक्षित स्थानमा जान सर्वसाधारणलाई आग्रह गरिएको छ।