बुधबार, १७ भदौ २०८३
बिहिबार, २४ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख २४ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण र नागरिकको सुसूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताउनुभएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो । वि.सं. १९५८ मा गोरखापत्रको प्रकाशन शुरु भएको ऐतिहासिक दिन वैशाख २४ गतेलाई स्मरण गर्दै राष्ट्रपतिले देशभरका सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले ‘वरिष्ठ पत्रकार सम्मान’ तथा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो ।
अग्रजहरूको साधनाले नयाँ पुस्तालाई व्यावसायिक निष्ठा र सत्यको मार्गमा लाग्न सधैँ उत्प्रेरित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा पत्रकारिता जगतले खेलेको भुमिका उल्लेखनीय रहेको बताउनु भयो । सञ्चारकर्मीहरूको सुरक्षा र वृत्तिविकासका विषयमा चर्चा गर्दै राष्ट्रपतिले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार सङ्कलन एवं संप्रेषण गर्ने अवस्था सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनु भयो । साथै, श्रमजीवी पत्रकारहरूको हकहित र सञ्चार गृहहरूको आर्थिक दिगोपनका लागि सरकार र निजी क्षेत्रबिच प्रभावकारी समन्वय हुनुपर्ने उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले भन्नुभयो, ‘स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता लोकतन्त्रको अनिवार्य शर्त हो । प्रेस स्वतन्त्रताविना लोकतन्त्रको कल्पना गर्न सकिँदैन, त्यसैले हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा प्रत्याभूत गरेको छ ।’
वर्तमान समयमा सूचना प्रविधिको तिब्र विकाससँगै सामाजिक सञ्जालमार्फत प्रवाह हुने मिथ्या सूचना र भ्रमपूर्ण सामग्रीहरू पत्रकारिता क्षेत्रका लागि ठूलो चुनौती बनेको राष्ट्रपतिले उल्लेख गर्नुभयो । यस्ता आधारहीन सूचनाबाट नागरिकलाई दिग्भ्रमित हुन नदिन र सत्य–तथ्य समाचार सम्प्रेषण गर्न नेपाली प्रेस सक्षम हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै सुशासन, विकास र आर्थिक समृद्धिको राष्ट्रिय सङ्कल्प पूरा गर्ने अभियानमा नेपाली प्रेसले थप प्रभावकारी भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।–न्युज एजेन्सी नेपाल
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
५२ मिनेट अगाडि
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
४ घण्टा अगाडि