मङ्गलबार, १९ जेठ २०८३
मङ्गलबार, १९ जेठ २०८३ · राजनीति
नयाँ दिल्ली, जेठ १९ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नयाँ दिल्लीस्थित भाजपा केन्द्रीय मुख्यालय पुगेका छन्।
मुख्यालय परिसरमा उनलाई रातो कार्पेट बिछ्याएर र ठाउँ–ठाउँमा स्वागतार्थ होडिङ बोर्डहरू राखेर भव्य स्वागत गरिएको छ। रास्वपा प्रवक्ता मनिष झाका अनुसार भ्रमणको मुख्य कार्यतालिका अन्तर्गत सभापति लामिछानेले आजै भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नीतिन नवीन लगायतका उच्च तहका नेताहरूसँग द्विपक्षीय राजनीतिक भेटवार्ता गर्दैछन्। उक्त उच्चस्तरीय बैठकमा दुवै देशका लोकतान्त्रिक शक्तिहरू, राजनीतिक सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।
सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, रास्वपा सह-महामन्त्री एवं सांसद बिपिन कुमार आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहरा र निजी सचिव प्रदीप आचार्यसहितको टोली यस भ्रमणमा सहभागी छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा भइरहेको यस भ्रमणका क्रममा लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग अन्तर्क्रिया गर्नुका साथै अयोध्याको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।
इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन
२ घण्टा अगाडि