शनिबार, २० भदौ २०८३
बुधबार, १८ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १८ । नेकपा (एमाले) को संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा 'बादल' निर्विरोध निर्वाचित भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न संसदीय दलको बैठक र निर्वाचन प्रक्रियामार्फत थापा निर्वाचित भएका हुन्।
संसदीय दलको नेतृत्वका लागि उपाध्यक्ष थापा र युवा नेता सुहाङ नेम्वाङले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए। पार्टीभित्र सुरुमा सहमतिको प्रयास गरिए पनि दुवै पक्षबीच कुरा मिल्न नसकेपछि निर्वाचनको तयारी गरिएको थियो। सोही क्रममा निर्वाचनका लागि दुवै नेताले मनोनयन फारमसमेत लगेका थिए।
उपाध्यक्ष थापाले समयमै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। नेम्वाङले मनोनयन पत्र लिए तापनि अन्तिम समयमा आवश्यक प्रस्तावक र समर्थक जुटाउन नसकेपछि उनको उम्मेदवारी प्रक्रिया अघि बढ्न सकेन। प्रस्तावक र समर्थकको अभावमा नेम्वाङको उम्मेदवारी दर्ता नभएपछि निर्वाचन समितिले थापालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।