आइतबार, १७ जेठ २०८३
आइतबार, १७ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १७ । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति प्रतिपक्ष नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
आईतवार सिंहदरबारस्थित संसद परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भिरतापूर्वक लिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको सो अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर पनि गर्नुभयो ।
सांसद बरालले भन्नुभयो,‘नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नु भएको छ । यसले हामी सबै नेपालको शीर झुकेको छ । र, प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेर अत्यन्तै दुःखद् छ । गम्भिर आपत्तिजनक छ । र, आज यो विषय सबै नेपालीहरुका लागि गम्भिर प्रतिष्ठाको विषय बन्यो । र, देशको शीर यसले झुकाएको छ । हामी यो विषयलाई गम्भिरतापूर्वक उठाउन चाहन्छौँ । यो कुरा सबै नेपाली सबै देशभक्त स्वामीमानीहरुको शीरमाथि उहाँले धब्बा लगाउनुभएको छ ।’
सांसद बरालले प्रधानमन्त्री साहले नेपाली जनताको प्रतिष्ठामा आँच आउने खालको अभिव्यक्ति दिन थालेको पनि बताउनु भयो ।–न्युज एजेन्सी नेपाल