बुधबार, १७ भदौ २०८३
बुधबार, १७ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ १७ । प्रधानमन्त्री बालेन्द्र साहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणमा राज्य संयन्त्र पूर्ण क्षमातामा परिचालित रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा रसुवाको भोटेकोशीमा गएको विनाशकारी बाढीबारे ब्रिफिङ गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको छ उहाँले ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेको बताउनु भयो ।
उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये १ सय ८२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । बाँकी घाइतेको स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री शाहले प्रभावित नागरिकको उपचारका लागि काठमाडौंँबाट विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको बताउनु भयो । उपचारसँगै बाढी प्रभावित नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको उहाँको भनाइ छ ।
उहाँले बाढी प्रभावित क्षेत्रमा सम्भावित महामारी फैलिन नदिन विभिन्न रोकथाम तथा सचेतनामूलक अभियान सञ्चालन गरिएको पनि बताउनुभयो । उहाँले रोगको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न माध्यमबाट नागरिकलाई आवश्यक सूचना प्रवाह भइरहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘केहीबेर अघिसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिसकेका छौँ । ३ हजार ९ सय १६ जना सम्पर्कविहीन हुनुहुन्छ । उद्धार गरेर विभिन्न अस्पतालमा भर्ना गरिएका २ सय ९२ जना घाइतेमध्ये केहीबेर अघिसम्म १ सय ८२ जना डिस्चार्ज भइसक्नुभएको छ । बाँकी घाइतेहरुको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मीहरु लागिरहनुभएको छ । हामीले काठमाडौंबाट विशेषज्ञसहितको टोली प्रभावित क्षेत्रका नागरिकको उपचारको लागि खटाइरहेका छौँ । उपचारसँगै प्रभावित क्षेत्रका नागरिकहरुलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइरहेका छौँ । साथै प्रभावित क्षेत्रमा कुनैपनि महामारी फैलिन नदिन विभिन्न अभियान चलाइरहेका छौँ । प्रभावित क्षेत्रमा रोगको रोकथामको लागि विभिन्न माध्यमबाट सूचना प्रवाह समेत भइरहेको छ ।’