मङ्गलबार, १२ जेठ २०८३
मङ्गलबार, १२ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ १२ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साह संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी दिनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले यस्तो स्पष्ट पार पार्नुभएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले विपक्षी दलले उठाएका मागहरू जायज, संवैधानिक र नियमावली सम्मत रहेको उल्लेख गर्नुभयो । उहाँले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको बताउनु भयो । आगामी केही दिनमा नै नयाँ बजेट सार्वजनिक हुने समय आएकाले कार्यसूचीमा रहेका कार्यक्रमहरूलाई अगाडि बढाउन आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो । संसदको कार्यतालिकालाई प्रभावित हुन नदिन र सार्वभौम सांसदहरूको जिज्ञासा सम्बोधन गर्ने वातावरण निर्माणका लागि सहयोग गर्न उहाँले माननीय सदस्यहरूलाई विशेष आग्रह समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यू सदनमा भइरहेका गतिविधि र माननीय सदस्यहरूले उठाउनुभएको विषयमा पूर्ण रूपमा जानकार हुनुहुन्छ । सत्ता पक्षका मुख्य सचेतकबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीज्यू सांसदहरूका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन तयारी अवस्थामा हुनुहुन्छ र उहाँ छिट्टै सदनमा उपस्थित हुनुहुनेछ ।’
विपक्षी दलहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा माग गर्दै सदनमा अवरोध सिर्जना गरेपछि सभामुखले सदन सुचारु गर्न यस्तो अपिल गर्नुभएको हो । –न्युज एजेन्सी नेपाल
झापामा हावाहुरीले केरा खेतीमा क्षति, ३ करोड बराबरको नोक्शानी
२६ मिनेट अगाडि