मङ्गलबार, १६ भदौ २०८३
सोमबार, ११ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ ११ । आगामी जेठ १५ गते आयोजना हुने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सम्बोधन नगर्ने हुनुभएको छ। विगतको परम्परालाई तोड्दै यसपटक प्रधानमन्त्री शाहले आफ्नो स्थानमा राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधनको व्यवस्था मिलाउन आग्रह गर्दै पत्राचार गर्नुभएको हो।
नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाटै सम्बोधन गराउन प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयलाई पत्र पठाइसकेको सिंहदरबार स्रोत र प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पुष्टि गर्नुभएको छ।
निर्वाचित भएदेखि नै सार्वजनिक मञ्च र सदनमा 'मौन' रहँदै आउनुभएका प्रधानमन्त्री शाहले यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको धन्यवाद प्रस्ताव पनि आफैँ नबोली सभामुखसमक्ष पेस गर्नुभएको थियो। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री रोष्ट्रममा नगएपछि विपक्षी दलहरूको अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। त्यस्तै, नियमावलीअनुसार महिनाको एक पटक हुने संसद्को प्रत्यक्ष प्रश्नोत्तरका लागि सभामुख डोलप्रसाद (डीपी) अर्यालले मिति माग्दा समेत प्रधानमन्त्रीले 'उपयुक्त समयमा उपस्थित हुने' जवाफ दिनुभएको थियो।
लगातारका महत्त्वपूर्ण राष्ट्रिय समारोह, संसद्को अवरोधबीच भर्खरै 'वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक, २०८३' पारित भएको घटनाक्रम र संसदीय अभ्यासहरूमा प्रधानमन्त्रीले देखाउनुभएको यो शैलीलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।