logo-image

सोमबार, ०८ असार २०८३

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सोमबार, ०८ असार २०८३ · राजनीति

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


काठमाडौं, असार ८ । प्रधानमन्त्री बालेन साहकी स्वकीय उपसचिव प्रकृति ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । असार ७ गते देखि चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा सोमबार आफ्ना निकटस्थहरूसँग छलफल गर्दै ढकालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

“म पदका लागि होइन, सुशासन, पारदर्शिता र जवाफदेहिताको अभियानलाई संस्थागत गर्न उम्मेदवारी दिन लागेको हुँ । राम्रो मान्छे नेतृत्वमा पुग्नुपर्छ भन्ने मेरो विश्वास हो, ”ढकालले भनिन् । चितवनकी २८ वर्षीया ढकाल देश परिवर्तनका लागि संवाद यात्राु अभियानकी संयोजकसमेत हुन् । ‘नाता भन्दा क्षमता, परम्परा भन्दा पारदर्शिता र अहिले नै जवाफदेहिता’ भन्ने मूल मन्त्र सहित उनले देशका १४ भन्दा बढी जिल्लाको भ्रमण गरी नागरिक, युवा, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गरेकी छन् । उनले काठमाडौं केन्द्रित राजनीतिबाट बाहिर परेका आवाजलाई राष्ट्रिय बहसमा ल्याउनु र नयाँ पुस्तालाई राजनीतिक चेतनासँग जोड्नु अभियानको मुख्य उद्देश्य रहेको बताएकी छन्। 

ढकालले बेलायत सरकारको प्रतिष्ठित चेभेनिङ पूर्ण छात्रवृत्ति अन्तर्गत लन्डन स्कूल अफ इकनमिक्सबाट ग्लोबल हेल्थ पोलिसीमा एमएस्सीमा स्नातकोत्तर उपाधि हासिल गरेकी छन् । उनले गण्डकी मेडिकल कलेजबाट चिकित्सकीय प्रतिचित्रण प्रविधि विषयमा स्नातकोत्तर तथा किङ्स कलेज, नेपालबाट गैरनाफामूलक व्यवस्थापन विषयमा स्नातकोत्तर व्यवस्थापन (एमबीए ) अध्ययन पूरा गरेकी छन् । साथै उनले अक्सफोर्ड विश्वविद्यालयबाट प्रणालीगत सोचसम्बन्धी तालिम पनि लिएकी छन् ।

पोखरा अनुसन्धान केन्द्रमा झण्डै चार वर्ष कार्यक्रम अधिकृतका रूपमा काम गरेकी ढकाल हाल युनाइटेड फर इम्प्याक्टकी कार्यकारी निर्देशक तथा आईएन ल्याबमा विश्वव्यापी स्वास्थ्य नीति प्रमुखका रूपमा पनि कार्यरत छिन् । रास्वपाको जारी महाधिवेशनमा उनको उम्मेदवारीलाई युवा नेतृत्व, सुशासन, पारदर्शिता र वैकल्पिक राजनीतिको एजेन्डालाई थप सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ ।