आइतबार, ०४ असोज २०८३
आइतबार, ०४ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज ४ । मौसमविद्हरूले आगामी असोज ८ देखि १२ गतेसम्म देशभर भारी वर्षा हुनसक्ने प्रक्षेपण गरेका छन्। बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै नेपालमा प्रवेश गर्ने क्रममा भारी वर्षा गराउन सक्ने विभिन्न मौसम पूर्वानुमान मोडलहरूले देखाएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार असोज ९ र १० गते वर्षाको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ। विभिन्न मोडलहरूले केही स्थानमा चार–पाँच दिनको अवधिमा ५०० मिलिमिटरसम्म वर्षा हुनसक्ने संकेत गरेका छन्। लुम्बिनी प्रदेशसहित पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखिए पनि कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने अहिले नै यकिन गर्न नसकिने उनले बताए।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले पनि असोज ८ देखि १२ गतेसम्म वर्षाको सम्भावना रहेको बताउँदै मौसमी प्रणालीको निरन्तर अनुगमन भइरहेको जानकारी दिएका छन्।
मनसुनको उत्तरार्द्धमा लामो समय भारी वर्षा हुँदा पहिल्यै भिजेको जमिनका कारण बाढी र पहिरोको जोखिम बढ्न सक्ने भएकाले किसान, यात्रु तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वतयारी र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नाटक माण्डवी : मञ्चमा उभिएको समय
२ घण्टा अगाडि