मङ्गलबार, ०६ असोज २०८३
मङ्गलबार, ०६ असोज २०८३ · राजनीति
काठमाडौं, असोज ६ । प्रधानमन्त्री बनेयता पहिलो पटक परराष्ट्र भ्रमणमा निस्कन लागेका प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दैछन्।
उनको साथमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यसहितको १४ सदस्यीय प्रतिनिधिमण्डल रहेको छ। उनी आज अपराह्न ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत अमेरिकाका लागि उड्नेछन्।
यसैबीच, सरकारले विमानस्थलको परम्परागत शैलीमा परिवर्तन गर्दै नयाँ र सन्देशमूलक अभ्यासको थालनी गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार अबदेखि विमानस्थलमा विशिष्ट पदाधिकारीहरूको बिदाइ तथा स्वागत समारोह आयोजना नगरिने भएको छ। सोही नियमअनुसार प्रधानमन्त्री शाह सरकारी निवासबाटै सिधै विमानको टरम्याक पुगेर प्रस्थान गर्नेछन् र यससँगै अन्य पदाधिकारीहरूलाई बिदाइ-स्वागतका लागि अनिवार्य उपस्थित हुनुपर्ने झन्झटिलो परम्परा पनि हटेको छ।
आगामी सेप्टेम्बर २४ (असोज ८) मा हुने महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पहिलो अन्तर्राष्ट्रिय मञ्चबाटै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको अपूरणीय क्षति, हिमालमा परेको गम्भीर असर र भोटेकोशी बाढीजस्ता विपद्का मुद्दालाई बुलन्द रूपमा उठाउनेछन्। साथै, उनले विकसित राष्ट्रहरूसँग जलवायु न्याय, क्षतिपूर्ति र जलवायु-मैत्री पूर्वाधारका लागि कडा दाबी प्रस्तुत गर्नेछन्।
न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग महत्त्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ। यसअघि नै परराष्ट्रमन्त्री शिशिर खनालको टोली न्युयोर्क पुगी विभिन्न साइड इभेन्टहरूमा व्यस्त भइसकेको छ भने अमेरिका उड्नुअघि प्रधानमन्त्री शाहले सोमबार मात्रै सिंहदरबारमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग समसामयिक विषयमा परामर्श गरेका थिए। महासभाको सम्पूर्ण कार्यक्रम सकेर उनी आगामी असोज १० मा स्वदेश फर्कनेछन्।