शुक्रबार, १६ असोज २०८३
शुक्रबार, १६ असोज २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, असोज १६ । साउदी अरबमा आपतकालीन अवतरण गरिएको फ्लाई दुबईको विमानका यात्रुहरू अन्ततः बुधवार इजरायलको बेन गुरियन विमानस्थल आइपुगेका छन् ।
ककपिटभित्र पाइलट र सह–पाइलटबीचको विवादले हिंस्रक रूप लिँदा उक्त विमान साउदी अरबको ताबुकमा आकस्मिक अवतरण गर्न बाध्य भएको थियो । करिव १८० यात्रु बोकेर दुबईबाट तेल अभिभका लागि उडेको उक्त विमानको ककपिटभित्र सह–पाइलटले पाइलटमाथि छुरा प्रहार गरेको आरोप लागेको छ ।
सोही झडपका कारण विमान अचानक अनियन्त्रित भई तिब्र गतिमा तल खसेको थियो । घटनालगत्तै साउदी अधिकारीहरूले विमानलाई ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए । इजरायलका मुख्य टेलिभिजन च्यानलहरूले बुधवार यात्रुहरूको आगमनको दृश्य प्रत्यक्ष प्रशारण गरेका थिए ।
विमानस्थलमा उनीहरूको स्वास्थ्य परीक्षणका लागि प्यारामेडिक्स र मनोसामाजिक परामर्शदाताहरूको टोली तयारी अवस्थामा राखिएको थियो । विमानस्थलमा अवतरण गरेपछि यात्रुहरूले राहतको सास फेर्दै ताली बजाएर खुशी व्यक्त गरेका थिए । यस घटनामा ५० वर्षीय एक यात्रु सामान्य घाइते भएको बताइएको छ । साउदी अधिकारीहरूले दुवै पाइलटलाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन्, यद्यपि उनीहरूले घटनाको आधिकारिक कारण सार्वजनिक गरेका छैनन् । फ्लाई दुबईका प्रवक्ताले घटनाको कारण र उद्देश्यबारे औपचारिक अनुसन्धान भइरहेको बताएका छन् ।
यता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आक्रमणकारी सह–पाइलटले विमान दुर्घटना गराउने प्रयास गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । त्यस्तै, इजरायली रक्षामन्त्री इजरायल काट्जले यस घटनालाई ‘जिहादी आतंकवादी हमला’को प्रयास भएको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले भने घटनाको विस्तृत अनुसन्धान रिपोर्टको प्रतीक्षा गरिरहेको छ ।