logo-image

आइतबार, ३१ साउन २०८३

बालेनमाथि ओलीको कटाक्ष: ‘मादल बजाउन नजान्नेलाई मादल दिँदा संगीत निस्कँदैन’

आइतबार, ३१ साउन २०८३ · राजनीति

बालेनमाथि ओलीको कटाक्ष: ‘मादल बजाउन नजान्नेलाई मादल दिँदा संगीत निस्कँदैन’

काठमाडौं, साउन ३१ ।  नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताउनुभएको छ । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र साहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गर्नुभयो । नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्युनतम दक्षता समेत नभएको टिप्पणी गर्नुभयो । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीले बताउनु भयो । खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै, नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर गर्नुभयो । सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उहाँको भनाइ छ । 

ओलीले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गर्नुभयो । अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उहाँले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाउनु भयो । संविधानको रक्षाका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको बताउनु भयो । 

अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारले जे गर्न सक्थ्यो, त्यही गर्दैछ । अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा यस्तै हुन्छ । खाना बनाउन नजान्ने बच्चालाई भान्सामा पठाउँदा उसले तरकारी काट्नेदेखि चिया बनाउनसम्म सबै कुरा बिगार्न सक्छ । नाच्न नजानेकोलाई नचाउँदा राम्रो नाच्न सक्दैन, मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन । शासन चलाउन पनि त्यस्तै अनुभव, क्षमता र ज्ञान चाहिन्छ । जानेकाले गर्ने ठाउँमा अनुभवहीन र उरन्ठेउला व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आएको छ । संविधान मिचिएको छ । अब संविधानलाई सही बाटोमा फर्काउनुपर्छ ।

प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक ढंगले चुनावको नाटक गरियो । प्रतिनिधि सभाको कार्यकाल अझै बाँकी हुँदाहुँदै किन विघटन गरियो ? समय हुँदाहुँदै संसद विघटन गरेर फेरि अर्को संसद किन आवश्यक प¥यो ? यसको जवाफ जनताले खोज्नुपर्छ ।’

अध्यक्ष ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिनुभयो ।