आइतबार, ०३ जेठ २०८३
आइतबार, ०३ जेठ २०८३ · राजनीति
काठमाडौं, जेठ ३ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रक्षा गरेर अघि बढ्नुपर्ने जिम्मेवारी सिंगो पार्टी पंक्तिको काँधमा आएको बताउनुभएको छ ।
आईतवार मदन आश्रित स्मृति सभाको अवर पारेर काठमाडौंको बल्खुस्थित मदन नगरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले र एमालेको नेतृत्व ओलीलाई समाप्त पार्ने षड्यन्त्र देशीविदेशी शक्तिहरुले गरिरहेकाले ती दुवैको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभएको हो । उपाध्यक्ष थापाले जेन–जी आन्दोलन, निर्वाचन, सरकार, सरकारका निर्णय, पार्टी अध्यक्ष ओलीमाथि भईरहेका षडयन्त्रहरुलाई हेर्दा ती सबै घटनाक्रमहरु दासढुंगा हत्याकाण्डनै निरन्तरताको रुपमा रहेको दाबी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अहिले सरकारले ल्याएको अध्यादेश हेर्नुस, मन्त्रीपरिषद्ले गरेको निर्णयहरु हेर्नुस् । हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुस् । उहाँमाथि लगाईका मुद्दाहरुको प्रकृतिलाई हेर्नुस् । यी सबै घटनाहरु के हुन् ? यी सबै घटनाहरु दासढुंगा घटनाकै निरन्रता हुन् । त्यसैको एउटा श्रृंखलाको रुपमा हामीले बुझ्नुपर्दछ । त्यसैले आज नेकपा एमालेको पछाडि एउटा गम्भिर कार्यभारहरु उपस्थित भएको छ । यी सबै घटनाक्रमहरु दासढुंगादेखि यहाँसम्मका घटनाक्रमहरुले हामीलाई के संकेत गरेको छ भने नेकपा एमालेको रक्षाको निम्ति देशीविदेशी शक्तिहरुले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान उनीहरुले संचालन गरेका छन् । नेकपा एमाले र त्यसको नेतृत्वलाई रक्षा गर्ने एउटा गम्भिर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’
उपाध्यक्ष थापाले एमाले र नेतृत्वमाथि जुन निरन्तर आक्रमण भइरहेकाले त्यसको विरुद्ध सचेत भएर लाग्नुपर्ने बेला आएको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल