logo-image

बुधबार, ०९ वैशाख २०८३

नवनिर्वाचित सांसदले मातृभाषामा शपथ लिन पाउने

आइतबार, ०८ चैत २०८२ · राजनीति

नवनिर्वाचित सांसदले मातृभाषामा शपथ लिन पाउने

काठमाडौं, चैत्र ८ । नयाँ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले आगामी चैत १२ गते पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार यसपटक सांसदहरूले आफ्नो मातृभाषामा शपथ लिन पाउने व्यवस्था गरिएको छ, जसका लागि इच्छुक सदस्यले तीन दिनअघि नै सचिवालयलाई जानकारी गराउनुपर्नेछ। शपथ ऐन २०७९ को दफा ५ बमोजिम मातृभाषामा शपथ लिन चाहनेले शपथको स्व-प्रमाणित अनुवादित प्रति समेत बुझाउनुपर्ने प्रावधान रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

यसका साथै, शपथ ग्रहण समारोहमा सांसदहरूलाई आफ्नो पहिचान र संस्कृति झल्किने मर्यादित पोसाक लगाउन समेत अनुमति दिइएको छ। कार्यक्रमको तालिका अनुसार, चैत ११ गते राष्ट्रपतिबाट ज्येष्ठ सदस्यले शपथ लिनेछन् भने भोलिपल्ट चैत १२ गते ज्येष्ठ सदस्यले अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।

 शपथ लिइसकेपछि सांसदहरूले दुई प्रति शपथ पत्रमा हस्ताक्षर गरी सचिवालयमा बुझाउनुपर्ने नियम रहेको छ।