बिहिबार, ०३ वैशाख २०८३
बिहिबार, १२ चैत २०८२ · राजनीति
काठमाडौं, चैत १२ । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।
संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा शपथ ग्रहण समारोह आयोजना गरिएको छ। नेपाली कांग्रेसका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनुहुनेछ, जसलाई बुधबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको थियो।
यसपटक ४७ जना सांसदहरूले नेपाली बाहेकका मातृभाषामा शपथ लिनका लागि नाम दर्ता गराएका छन्, जसमा १७ जनाले मैथिली भाषा रोजेका छन्। गत चैत ५ गते सम्पन्न निर्वाचनको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित पहिलो दल बनेको छ भने नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो स्थानमा छ।
त्यस्तै, नेकपा एमालेले २५, नेपाली कम्युनिष्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्।
यस्तै, आज शपथ ग्रहण समारोहपछि बस्ने रास्वपा बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेतामा चयन गर्ने तयारी गरेको छ। गत चैत ५ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको थियो।
उक्त निर्वाचनमा १८२ सिटसहित रास्वपा देशकै पहिलो राजनीतिक शक्ति बनेसँगै अबको सरकारको नेतृत्व सोही पार्टीले गर्ने निश्चित भएको छ। शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएपछि उहाँका लागि नेपालको आगामी प्रधानमन्त्री बन्ने मार्ग प्रशस्त हुनेछ।