logo-image

बिहिबार, १७ वैशाख २०८३

दुर्गम बस्तीमा भीस्याटमार्फत सेवा बढाउँदै नेपाल टेलिकम

बिहिबार, १७ वैशाख २०८३ · अर्थ

दुर्गम बस्तीमा भीस्याटमार्फत सेवा बढाउँदै नेपाल टेलिकम

काठमाडौं, बैशाख १७
नेपाल टेलिकम ले देशका विकट तथा दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारलाई तीव्रता दिएको छ । कम्पनीले स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टर उपकरण जडान गरेर टुजी प्रविधिमार्फत मोबाइल, टेलिफोन र डाटा सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
चालु आर्थिक वर्षमा डोल्पाको उपल्लो डोल्पास्थित कुगाउँ र निजाल, दोलखाको ना–गाउँ -च्छो–रोल्पा पदमार्ग) तथा रसुवाको चन्दनबारी -गोसाईंकुण्ड पदमार्ग) गरी चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम सेवा विस्तार गरिएको छ ।
हाल कम्पनीले देशभर ३८ स्थानमा यस्तो प्रविधिबाट मोबाइल सेवा सञ्चालन गरिरहेको छ। तीमध्ये सबैभन्दा धेरै १४ साइट डोल्पा जिल्लामा रहेका छन् । डोल्पाको छार्का–ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा, सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा सेवा सञ्चालनमा छ ।
यसैगरी, हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा–मुर्मा, सोरुकोट र भी गरी पाँच/पाँच स्थानमा सेवा विस्तार गरिएको छ । मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना–गाउँ, ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाईंकुण्ड र चन्दनबारी तथा दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा समेत यस्ता साइट सञ्चालनमा छन् ।
नेपाल टेलिकमले शहरी क्षेत्रमा मात्र नभई अत्यन्त कम जनसंख्या भएका दुर्गम बस्तीहरूमा समेत सेवा पु¥याउने उद्देश्यले भीस्याट प्रविधिको प्रयोग गर्दै आएको छ । ती क्षेत्रमा उपकरण पु¥याउन हेलिकप्टर प्रयोग गर्नुपरे पनि सेवा विस्तारलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस्ता दुर्गम क्षेत्रमा गरिएको लगानीबाट प्रत्यक्ष व्यावसायिक लाभ प्राप्त नहुने भए पनि …नेपाल टेलिकम राष्ट्रको सञ्चारÚ भन्ने मूल नारालाई साकार पार्ने उद्देश्यले सेवा विस्तार गरिएको हो । आगामी दिनमा यी साइटहरूलाई अन्य आधुनिक प्रविधिमार्फत स्तरोन्नति गरिने योजना पनि रहेको छ ।
नेपाल टेलिकमद्वारा कार्यान्वयन भइरहेको ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तारलाई समेत तीव्रता दिइएको छ । पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरसँगै प्रमुख सहरी, अर्धसहरी तथा ग्रामीण क्षेत्रमा उच्च क्षमतायुक्त, सुरक्षित र भरपर्दो डाटा सेवा सुनिश्चित गर्ने लक्ष्यका साथ काम भइरहेको छ । यसैक्रममा विभिन्न स्थानमा अप्टिकल फाइबर केबल -ओएफसी) सर्भे, एडीएसएस ओएफसी विस्तार तथा अन्डरग्राउन्ड नेटवर्क निर्माण कार्य भइरहेको छ । नेपाली सेना र सडक विभागसँगको सहकार्यमा विभिन्न सडकमार्गमा नेटवर्क विस्तार गरिएको छ ।
उपकरण तथा नेटवर्क सुदृढीकरणतर्फ उच्च क्षमतायुक्त राउटर तथा डीडब्लुडीएम उपकरण जडान, पुराना स्विचलाई आधुनिक प्रणालीमा स्तरोन्नति तथा वैकल्पिक रेडन्डेन्ट लिंक स्थापना गरिएको छ । यसले एउटा लिंकमा समस्या आए पनि अर्को माध्यमबाट सेवा निरन्तरता दिन सक्ने अवस्था सिर्जना भएको छ । साथै माइक्रोवेभ लिंक अपग्रेड गर्ने कार्य पनि जारी छ ।
कम्पनीले विशेषगरी न्यून जनसंख्या भएका दुर्गम भू–भागमा भरपर्दो र सर्वसुलभ दूरसञ्चार सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । सेवा निरन्तरता सुनिश्चित गर्न वैकल्पिक लिंक विस्तार, सम्बन्धित निकायसँग समन्वय, मर्मतसम्भार तथा पूर्वाधार संरक्षणका उपायहरू अपनाइएको जनाएको छ ।