logo-image

बिहिबार, १७ वैशाख २०८३

प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक

बुधबार, १६ वैशाख २०८३ · अर्थ

प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं, वैशाख १६ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई प्राथमिकतामा राख्दै आएको छ । विशेष गरी कृषि क्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकतामा राख्दै बैंकले २०८२ चैत मसान्तसम्म ३९ अर्ब ५३ करोड २० लाख  रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ । बैंकको आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गरिरहेको बैंकले कृषक तथा कृषि उद्धमीलाई आकर्षित गर्न कृषिसंग सम्बन्धित कर्जामा प्रशोधन शुल्कमा समेत सुविधा प्रदान गर्दै आईरहेको छ । 

कुखुरापालन, बाख्रापालन, गाईपालन, भैंसीपालन, माछापालन लगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैंकले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषी उत्पादनलाई जोड दिंदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको ’प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने गरेको छ । त्यसैगरी स्थानीय साना कृषकलाई लक्षित गरी कुनैपनि प्रशोधन शुल्क नलिई बैंकले  ४.७५ प्रतिशत ब्याजदरमा १० लाखसम्म ’साना किसान सरल कर्जा’ उपलब्ध गराईरहेको छ । साथै बैंकले किसानहरुका लागि ’किसान क्रेडिट कार्ड’को सुविधा पनि उपलब्ध गराईरहेको छ । 

कृषि कर्जाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति जारी गरी कृषि कर्जा कार्यविधि समेत लागू गरेको छ । त्यसैगरी कृषिमा गरिने लगानीलाई प्रभावकारी बनाउन बैंकको केन्द्रिय कार्यालयमा छुट्टै कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरिएको छ । यस क्षेत्रमा दक्ष कृषि विज्ञलाई कर्मचारीको रुपमा भित्र्याई बैंकले विभाग, प्रादेशिक कार्यालयहरु र शाखा कार्यालयहरुमा खटाउँदै आएको छ । बैंकले ७७ वटै जिल्लाहरुमा रहेका आफ्ना सबै ३१४ वटै शाखाहरु मार्फत कृषि कर्जा उपलब्ध गराउँदै कृषि कर्जामा ग्रामिण कृषकहरुको पहुँच सुनिश्चित गरेको छ । साथै बैंकले समय समयमा ग्राहकहरुलाई वित्तीय सचेतनाका कार्यक्रम मार्फत कृषि कर्जाको बारेमा जानकारी समेत गराउने गरेको छ ।

परम्परागत रूपमा निर्वाहमुखी कृषि पेशामा आबद्ध ग्रामिण किसानहरुलाई लक्षित गर्दै यस बैंकले सरकारी नीति तथा प्राथमिकतालाई आत्मसाथ गरी कृषि कर्जा मार्फत पूँजी परिचालन गर्ने र कृषिको यान्त्रिकीकरण तथा व्यवसायीकरणमा सहयोग पु¥याउँदै आइरहेको छ । यसले कृषीको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, प्रत्येक्ष तथा अप्रत्येक्ष रोजगारी सिर्जना, स्वरोजगार तथा आय आर्जनमा वृद्धि, ग्रामीण अर्थतन्त्रको विकास, मूल्य शृंखलामा वृद्धि जस्ता अर्थतन्त्रका विविध पाटामा  सकारात्मक प्रभाव पारेको छ ।