logo-image

बिहिबार, २५ भदौ २०८३

उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामा, सहयोग गर्ने सबैप्रति आभार

बिहिबार, २५ भदौ २०८३ · राजनीति

उद्योगमन्त्री  गौरीकुमारी यादवको राजीनामा, सहयोग गर्ने सबैप्रति आभार

 

काठमाडौं, भदौ २५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।

पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि समस्या समाधान गर्न नसकेको भन्दै मन्त्री यादवको आलोचना हुँदै आएको थियो। उपभोक्ताले ग्यासको अभाव झेलिरहेका बेला आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसकेको भन्दै सरकारमाथि समेत प्रश्न उठ्दै आएको थियो।

यसैबीच, यादवले बुधबार बसेको संसदीय समिति बैठकमा ग्यास अभावको समस्या उद्योगीहरूका कारण उत्पन्न भएको दाबी गर्दै कर्मचारीबाट समेत आफूलाई अपेक्षित सहयोग नपाएको गुनासो गरेकी थिइन्।

उद्योगीहरूलाई कारबाही गर्ने तथा आवश्यक परे लाइसेन्ससमेत खारेज गर्न सक्ने चेतावनी दिएपछि व्यवसायीहरू असन्तुष्ट बनेका थिए। व्यवसायीहरूले प्रधानमन्त्रीको कार्यालयमा समेत गुनासो गर्दै मन्त्रीको अभिव्यक्ति फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको स्रोतको दाबी छ।

स्रोतका अनुसार पछिल्लो समय ग्यास आपूर्ति विवाद र उद्योगी–व्यवसायीसँग बढेको टकराव पनि यादवको राजीनामाको कारणमध्ये एक हो। यद्यपि, राजीनामाको आधिकारिक कारण भने स्पष्ट रूपमा सार्वजनिक गरिएको छैन।

राजीनामा बुझाएपछि यादवले आफ्नो कार्यकालमा मन्त्रालयसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएर सहयोग र सहकार्य गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेकी छन्।

मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग र सहकार्यले आफूलाई काम गर्न सहज बनाएको उल्लेख गर्दै उनले मन्त्रालयका कर्मचारी, सम्बन्धित निकाय तथा विभिन्न तहबाट सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

यादवले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैको योगदानप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य र सद्भाव कायम रहने अपेक्षा व्यक्त गरेकी छन्।

ताजा समाचार