logo-image

बुधबार, ०३ भदौ २०८३

बारामा ३ वर्षीया बालिकाको करणी पछि हत्या, दुई जना पक्राउ

बुधबार, ०३ भदौ २०८३ · समसामयिक

बारामा ३ वर्षीया बालिकाको करणी पछि हत्या, दुई जना पक्राउ

बारा, भदौ ३ ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको जबरजस्ती करणीपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा दुई जना पक्राउ परेका छन्।

२०८३ भदौ २ गते जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र जितपुरसिमरा बस्ने ३ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

घटनापछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो। थप अनुसन्धानका क्रममा नेपाल प्रदेश प्रहरी कार्यालय, वीरगञ्जबाट कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार बालिका २०८३ साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्। अनुसन्धानका क्रममा जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने अन्दाजी १६ वर्षीय बालकले बालिकालाई चकलेट दिएर फकाई घटनास्थलमा लगेको र जबरजस्ती करणीपछि हत्या गरेको खुलेको छ।

घटनाको अनुसन्धानका क्रममा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक निज १६ वर्षीय बालक तथा उक्त म्याजिकका धनी जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।