logo-image

सोमबार, १५ असार २०८३

सांसदहरुले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउनुपर्दछः सभामुख अर्याल

सोमबार, १५ असार २०८३ · राजनीति

सांसदहरुले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउनुपर्दछः सभामुख अर्याल

काठमाडौं,  असार १५ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधिहरु अघि बढाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ । 
सभामुख अर्यालले लाखौँ नेपाली जनताले मत दिएर पठाएका जिम्मेवारी नागरिक भएको हुनाले सांसदहरुले आम जनताको मूल्याकंनमा अब्बल हुनेगरी व्यवहार देखाउनुपर्ने स्पष्ट पार्नुभएको हो । संघीय संसद सचिवालयले सिंहदरबारमा सोमवारदेखि सांसदहरुका लागि आयोजना गरेको २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदहरुबीच राम्रो कानून बनाउने कुरा, राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिष्पर्धा हुन आवश्यक रहेको समेत बताउनु भयो । सांसदहरुको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरुले जनताको माझमा अब्बल हुनेगरी काम गर्नुपर्ने सभामुख अर्यालको भनाई थियो । उहाँले उक्त अभिमुखिकरण कार्यक्रमबाट सिकेर सांसदहरुले आफनो भुमिकालाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । 
सभामुख अर्यालले भन्नुभयो,‘धेरै माननीय सदस्यहरु नयाँ छौँ । नयाँको अर्थ यो होइन कि तपाईंहरुले नेपाल नबुझनु भएको हो । नेपालको कानून नबझ्नुभएको हो, विधि नबुझ्नुभएको भन्ने होइन । तर यो संघीय संसद प्रतिनिधि सभाको यसको विधि, प्रक्रियामा हामी अभ्यस्त छैनौँ । हामीले त्यसमा काम गरिरहेका छैनौँ । त्यसअर्थ नयाँ भनेका छौँ । त्यसकारण हामीले यहाँहरुको अलि बढी उपस्थितिको अपेक्षा गरेका थियौँ आज । १० बजे अलि समयमा नै उपस्थितिमा अपेक्षा गरेका थियौ आज । त्यसकारण हामी संघीय सांसद हौँ । हामी सांसद हौँ । हामी प्रतिनिधि सभाको हजारौँ, लाखौँ जनताले हरेक एक एक जनाले मत दिएर पठाएको एक जना जिम्मेवार नागरिक हौँ । त्यसकारण हामीले गर्ने व्यवहार आजैको समयमा उपस्थिति हुने कुरादेखि आजै हामी सबै उपस्थित हुने कुरादेखि यी हरेक कुराहरुलाई जनताले मूल्यांकन गरिरहेको हुनुहुन्छ । अव तपाईंहरुको मूल्यांकन मैले अथवा ४÷६ जनाको टीमले अथवा संघीय संसद सचिवालय अथवा प्रधानमन्त्रीले अथवा कसैले तपाईहरुको आ आफनो पार्टीको सभापति वा अध्यक्षले भन्दा पनि अब तपाईं हामी सबैको मूल्यांकन जनताले गरिरहेको हुनुहुन्छ भन्ने मलाई लाग्दछ । त्यसकारणले जनताले गर्ने त्यो मूल्यांकनमा हामी अब्बल नम्बर ल्याउन सक्ने कसरी बन्छौँ त ? हामी सांसद–सांसदहरुबीचको स्वास्थ प्रतिष्पर्धा राम्रोको लागि कानून बनाउने कुरामा, राम्रो व्यवहार देखाउने कुरामा, राम्रो प्रश्तुति दिने कुरामा हामी कसरी अब्बल बन्न सक्छौँ त ? त्यसकारण आज र भोलीको बसाईले एउटा यस्तो सिकाई बनोस, तपाईंहरुलाई आज र भोली हामीले धेरै अगाडि नै सूचना जारी गरिसकेको हुनाले हतार नगरी भित्र बस्दाखेरी साईटटक नगरी मोबाईलमा धेरै अभ्यस्त नभई समय पैसा खर्च गरेर आईसकेपछि केही सिकेर जाऔँ, त्यो प्रयास होस् । तपाईहरुको यो सिकाईबाट अब हुने प्रतिनिधि सभा बैठकमा आज र भोलीको अभिमुखिकरण तालिमबाट केही सिकेको अनुभूति सभामुखको हैसियतले मैले पनि गर्न पाउँ । संघीय संसद सचिवालयले गर्न पाओस् । त्यो भन्दा पनि सबैभन्दा बढि तपाईंहरुको मतदाताले गर्न पाउन ।’
सभामुख अर्यालले उक्त अभिमुखिकरण कार्यक्रममा सबै सांसदहरुको उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल