logo-image

बुधबार, १७ भदौ २०८३

मेरो करोडौँको सम्पत्ति भनेकै सहयोगी हातहरू हुन्: भौतिक सम्पत्ति सार्वजनिक गर्दै सांसद महाबीर पुनको प्रष्टीकरण

बुधबार, १६ वैशाख २०८३ · राजनीति

मेरो करोडौँको सम्पत्ति भनेकै सहयोगी हातहरू हुन्: भौतिक सम्पत्ति सार्वजनिक गर्दै सांसद महाबीर पुनको प्रष्टीकरण

काठमाडौं, वैशाख १६ । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद महाबीर पुनले आफ्नो सम्पूर्ण चल-अचल सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। संघीय संसद सचिवालयमा कानुनी रूपमा विवरण बुझाउनु अगावै उनले पारदर्शिताका लागि भन्दै सामाजिक सञ्जालमार्फत जनतामाझ आफ्नो विवरण खुलाएका हुन्।

आफूमाथि राष्ट्रिय आविष्कार केन्द्र र पुस्तक बिक्रीबाट करोडौँ रुपैयाँ व्यक्तिगत रूपमा थुपारेको भन्दै लाञ्छना लगाउनेहरूलाई जवाफ दिन उनले यो विवरण सार्वजनिक गरेको बताएका छन्।

यस्तो छ महाबीर पुनको सम्पत्ति विवरण:

सांसद पुनले सार्वजनिक गरेको विवरण अनुसार उनीसँग हाल बैंकमा नगद, केही तोला सुन र कास्कीमा जग्गा रहेको छ:

नगद मौज्दात: उनको नाममा हाल बैंकमा करिब २९ लाख रुपैयाँ रहेको छ। जसमा नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ (साथीभाइको सहयोग) र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ रहेको छ। यो २५ लाख रुपैयाँ गत प्रतिनिधि सभा निर्वाचनका क्रममा सहयोगीहरूले दिएको रकमबाट बचत भएको र यसलाई म्याग्दीस्थित सम्पर्क कार्यालय सञ्चालनमा खर्च गरिने उनले स्पष्ट पारेका छन्।

सुन: उनीसँग करिब ३ तोला सुन रहेको छ। उक्त सुन उनले वि.सं. २०६० सालतिर खरिद गरी श्रीमतीलाई उपहार दिएको विवरणमा उल्लेख छ।

घरजग्गा: कास्कीको पोखरा महानगरपालिका–७ माझठानामा चार स्थानमा गरी कुल २८ रोपनी जग्गा रहेको छ। वि.सं. २०५२ सालमा अमेरिकाबाट फर्कँदाको बचत (करिब ४ लाख रुपैयाँ) बाट किनिएको उक्त जग्गा हाल राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको तर ग्राहक नपाएको उनले बताएका छन्।

पुस्तक आम्दानी: आफ्नो आत्मकथा बिक्रीबाट भएको करिब २ लाख ५० हजार रुपैयाँ आम्दानी उनले व्यक्तिगत प्रयोजनमा नलगाएर राष्ट्रिय आविष्कार केन्द्र र कृषि औजार कारखाना सञ्चालनका लागि जम्मा गरेको जानकारी दिएका छन्।

पुनले आफू पहिले शिक्षा मन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाएको तर तत्कालीन सरकारले त्यसलाई गोप्य राखेर सार्वजनिक नगरिदिएको गुनासो गरे। यसपटक पनि संघीय संसद सचिवालयले सार्वजनिक नगर्न सक्ने आशंका व्यक्त गर्दै उनले भनेका छन् -

"मलाई शंका लागेर सचिवालयमा बुझाउनु भन्दा पहिले नै यो विवरण आफैँले सार्वजनिक गरेको हुँ। रिस गर्ने र ममाथि करोडौँ थुपार्यो भन्नेहरूले यसको राम्रोसँग छानबिन गरुन्।"

विवरणको अन्त्यमा उनले आफ्नो वास्तविक सम्पत्ति भौतिक वस्तु नभएर मानिसहरू रहेको उल्लेख गरेका छन्। "यी भौतिक सम्पत्ति बाहेक मेरो अभौतिक र मूल्याङ्कन गर्न नसकिने अमूल्य अनि असिमित सम्पत्ति भनेका देश-विदेशमा बसोबास गर्ने मेरा असंख्य सहयोगीहरू हुन्," उनले भावुक हुँदै लेखेका छन्।

आफूसँग कुनै पनि निजी सवारी साधन, थप ऋण वा अन्य व्यवसायिक लगानी नरहेको स्पष्ट पार्दै पुनले आफू सधैँ पारदर्शिता र देश विकासको अभियानमा समर्पित रहने प्रतिबद्धता समेत दोहोर्‍याएका छन्।