बिहिबार, २९ असोज २०८३
सोमबार, २२ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ २२ । देशभरका ३५ भन्दा बढी जिल्लाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको तीन दिने पूर्वानुमानअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना रहेको छ।
विशेषगरी ताप्लेजुङ, संखुवासभा, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, कास्की, सुर्खेत, बाजुरा, बर्दिया लगायतका ३५ भन्दा बढी जिल्लाका स–साना नदी तथा खोलाहरूमा अचानक बाढी आउन सक्ने खतरा औंल्याइएको छ।
यस विषम परिस्थितिमा नदी तथा खोला आसपास बसोबास गर्ने सर्वसाधारणलाई नदी किनारमा नजान, राति विशेष सावधानी अपनाउन र पानीको बहाव अचानक बढेमा सुरक्षित तथा अग्लो स्थानतर्फ जान महाशाखाले अनुरोध गरेको छ। साथै, स्थानीय तह तथा सम्बन्धित निकायलाई पनि नदीको सतहको निगरानी गर्न, समुदायलाई समयमै सचेत गराउन र उद्धारका लागि तयारी अवस्थामा रहन विशेष आग्रह गरिएको छ।