शुक्रबार, ३० असोज २०८३
शुक्रबार, १९ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ, १९ । भोटेकोसीको बाढीपछि रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनदेखि थुनिएका दुई कर्मचारीलाई बिहीबार बिहान जीवितै उद्धार गरिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले आयोजनाका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनको सफलताका साथ उद्धार गरेको हो।
उद्धार गरिए लगत्तै दुवै जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याएर छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। निरन्तर चिसो लेदोमा पुरिएका कारण महर्जनमा ‘माइल्ड हाइपोथर्मिया’ (शरीरको तापक्रम अत्यधिक घट्ने अवस्था) देखिएको छ भने हातगोडा राम्रोसँग चलाउन नसक्ने स्थितिमा छन्। प्राथमिक उपचारपछि थप सघन उपचारका लागि उनलाई काठमाडौँ ल्याइएको हो।
नेपाली सेनाका अनुसार सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि अड्किएको हुनसक्ने आशङ्कामा खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।