logo-image

मङ्गलबार, १२ जेठ २०८३

ईयू र मित्रराष्ट्रका राजदूतहरूसँगको भेटमा प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सरकारको प्राथमिकता र नीतिगत स्थिरता स्पष्ट

मङ्गलबार, १२ जेठ २०८३ · राजनीति

ईयू र मित्रराष्ट्रका राजदूतहरूसँगको भेटमा प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सरकारको प्राथमिकता र नीतिगत स्थिरता स्पष्ट

काठमाडौं, जेठ १२ ।  प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर देखिने गरी उकास्न र देशमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) तथा यसका सदस्य राष्ट्र र अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उहाँले हालैको निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिको स्पष्ट जनादेश दिएको उल्लेख गर्दै नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता र राजनीतिक स्थिरता कायम रहने प्रष्ट पार्नुभयो।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्रीले नेपालले आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूमा आधारित सन्तुलित एवम् व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने बताउँदै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु र पर्यटनका क्षेत्रमा सहकार्य अझ सुदृढ बनाउन नेपाल लागिरहेको उल्लेख गर्नुभयो। साथै, उहाँले विश्वभरका द्वन्द्वहरू निरूपणका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभयो।

भेटमा सहभागी राजदूतहरूले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा नेपालको प्रशंसा गर्दै आर्थिक विकास, समृद्धि र सुशासनका लागि विभिन्न क्षेत्रमा सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

ताजा समाचार