बुधबार, २३ वैशाख २०८३
बुधबार, २३ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख २३ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। परिषद्का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीको निर्देशनअनुसार सचिवालयले २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५:०० बजे सिंहदरबारमा बैठक बोलाएको हो।
बैठकको मुख्य कार्यसूची 'प्रधानन्यायाधीशको नियुक्ति सिफारिस' रहेको छ। संवैधानिक परिषद्मा विशिष्ट व्यक्तिहरू सदस्य रहने प्रावधान अनुसार बैठकमा सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारी सहभागी हुनेछन्।
सामान्यतया प्रधानन्यायाधीश पनि परिषद्को सदस्य रहने व्यवस्था भए तापनि प्रधानन्यायाधीश नियुक्तिको एजेन्डामा स्वार्थ बाझिने हुनाले उनको स्थानमा कानुन मन्त्रीलाई सहभागी गराउने गरिन्छ। सोही प्रावधान अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रधानन्यायाधीशको स्थानमा प्रतिनिधित्व गर्नेछिन्।
सचिवालयका अनुसार बैठकका लागि सबै सदस्यहरूलाई आमन्त्रण गरिसकिएको छ। प्रधानन्यायाधीशको पद लामो समयदेखि रिक्त हुन लागेको सन्दर्भमा यस बैठकले गर्ने सिफारिसलाई निकै महत्त्वका साथ हेरिएको छ।